सुर्खेत– सुर्खेतमा रहेको वायु ऊर्जा (हावाबाट विद्युत उत्पादन केन्द्र) आयोजना राजनीतिको शिकार बनेको छ।
बराहताल गाउँपालिका–३ को हर्रेकाँडामा रहेको वायु ऊर्जा राजनीतिक प्रतिशोधका कारण निर्माण भएको दुई वर्षमै प्रयोगविहीन बनेको छ।
२०७४ साउनमा ५६ लाख ६६ हजार लागतमा निर्माण गरिएको ‘हर्रेकाँडा वायु ऊर्जा’ अहिले प्रयोगविहीन अवस्थामा छ। २०७६ साउनमा चट्याङले क्षति पुगेको आयोजना स्थानीयवासी दलगत रुपमा विभाजित हुँदा मर्मत हुन सकेको छैन।
चट्याङले सोलार र डाइनामो सेटमा क्षति पुगेको छ। तर मर्मत गर्ने सन्दर्भमा स्थानीय कार्यकर्ताहरु नेपाली कांग्रेस, पूर्व एमाले तथा माओवादी विचारधारामा विभाजित छन्। मर्मत गरिएको खण्डमा त्यसको जस कुन पार्टीले लिने भन्नेमा स्थानीयबीच विवाद छ। स्थानीयबाट सुरु भएको विवाद वडा हुँदै गाउँपालिकासम्म पुगेको छ। परिणामस्वरुप आधा करोड खर्चेर निर्माण गरेको वायु ऊर्जा अहिले प्रयोगविहीन अवस्थामा छ।
सोलारका पाता, विद्युतका पोल र तारहरु जीर्ण बनिसकेका छन्। विद्युत् उत्पादन बन्द भएपछि आर्थिक स्रोत हुनेहरुले घरमा सोलार किनेका छन्। नसक्नेले दियालो बाल्नुपर्ने बाध्यता छ। सोलार नहुनेहरु मोबाइल चार्ज गर्नसमेत अर्काको घरमा धाउनुपर्छ। विद्युत् उत्पादन बन्द हुँदा गाउँमा असुरक्षा बढेको तथा राति काम गर्न असहज भएको स्थानीयले गुनासो गरेका छन्।
यसरी घुस्यो राजनीति
हर्रेकाँडा बर्दिया राष्ट्रिय निकुञ्जसँग जोडिएको बस्ती हो, जुन भौगोलिक रुपमा विकट छ। ३५ घरधुरीमध्ये आधाजति दलित छन्। आर्थिक रुपमा पनि उनीहरु विपन्न छन्। केही वर्षअघि गाउँमा कच्ची सडक पुगेको छ। तर नियमित सवारीसाधान चल्दैनन्। त्यहाँ राष्ट्रिय विद्युत् प्रशारण लाइन पुगेको छैन। यही कारण ७ वर्षअघि अर्थात् २०७० मंसिर १५ गतेदेखि उज्यालो बनाउने प्रयत्न गरियो।
गाउँलाई टुकीबाट मुक्त गर्ने अभियानको नेतृत्व गरे पूर्व शिक्षक विष्णुबहादुर शाहीले। उनको अभियानमा जिल्ला समन्वय समिति सुर्खेत, पूर्व सञ्चार राज्यमन्त्री तप्तबहादुर विष्ट, तत्कालीन तरंगा गाविस र स्थानीयवासीले हातेमालो गरे।
पूर्व राज्यमन्त्री विष्टले सांसद क्षेत्र विकास कोषबाट ८ लाख ५६ हजार रुपैयाँ, वैकल्पिक ऊर्जाले ३९ लाख ९२ हजार, तत्कालीन गाउँ विकास समिति तरंगाबाट २ लाख १४ हजार र उपभोक्ताले १६ हजार लगानी गरे। आयोजना सफल बनाउन ५ लाख ८६ हजार रकम बराबरको स्थानीयले जनश्रमदान गरे। कुल ५६ लाख ६६ हजार ४ सय ३८ रुपैयाँको लागतमा ०७४ साउन ५ गते विधिवत् रुपमा ऊर्जा उत्पादन सुरु भयो। आयोजना सञ्चालन भएपछि ३५ घरधुरीमध्ये २५ घरधुरीमा लाइन विस्तार भयो। तर आयोजना जस लिने सन्दर्भमा स्थानीय विभाजित भए।
आयोजनामा नेपाली कांग्रेसका नेता एवम् पूर्व सञ्चार राज्यमन्त्री विष्टले सांसद विकास कोषबाट ८ लाख ५६ हजार रुपैयाँ सहयोग गरेका थिए। यही कारण कांग्रेस समर्थित स्थानीयले कांग्रेसकै कारण गाउँमा बत्ती बलेको प्रचार गरे। जुन नेकपा लगायतका अन्य राजनीतिक दलहरुलाई मन परेन।
दुर्भाग्यवश २०७६ साउनमा परेको चट्याङ्ले वायु ऊर्जामा क्षति पुग्यो। त्यसपछि विद्युत् उत्पादन बन्द भयो। कांग्रेसका कारण आयोजना बनेको भनेपछि तत्कालीन एमालेका कार्यकर्ता मर्मत गर्न तयार भएनन्। कांग्रेसले बनाएको विद्युत् नबाल्ने भन्दै केही घरधुरीले तारसमेत फिर्ता गरिदिए।
पछि यो विवाद वडा हुँदै गाउँपालिकासम्म पुग्यो। पूर्व माओवादीबाट निर्वाचित वडाध्यक्ष दत्त बराल र नेपाली कांग्रेसबाट निर्वाचित गाउँपालिका अध्यक्ष तेजबहादुर बस्नेत आयोजना मर्मतमा गर्ने विषयमा एक मत भएनन्। परिणामस्वरुप डेढ हर्रेकाँडामा विद्युत् उत्पादन बन्द भएको छ। ‘राजनीतिक दलहरु मिलेको भए गाउँपालिका र वडाले पनि सहयोग गर्थ्यो,’ एक स्थानीयले भने, ‘कामको जस कुन दलले लिने भन्ने विवादकै कारण मर्मत नभएको हो।’
आयोजना सञ्चालन र रेखदेखको जिम्मेवारी पाएका स्थानीयले भने आर्थिक अभावका कारण आफूहरुले वायु ऊर्जा मर्मत गर्न नसकेको बताएका छन्। ‘चट्याङले सोलारका पाता र मुख्य भागमा क्षति पुगेको छ,’ स्थानीय प्रेम गौतमले भने, ‘हामीलाई कहाँ मर्मत हुन्छ भन्ने पनि थाहा छैन।’
अर्का स्थानीय शेरबहादुर कुँवरले मर्मतका लागि वडा र गाउँपालिकालाई जानकारी गराए पनि बेवास्ता गरेको गुनासो गरे। ‘चट्याङ परेकै दिन हामीले वडा र गाउँपालिकामा जानकारी गराएका थियौँ। तर मर्मतका लागि कसैले वास्ता नै गरेनन्,’ उनले भने।
बराहताल गाउँपालिका वडाध्यक्ष दत्त बरालले भने वायु ऊर्जा मर्मत गर्नुभन्दा प्रत्येक घरधुरीलाई सोलार बाँड्ने बताएका छन्। ‘वायु ऊर्जा मर्मत गर्नुपर्ने जिम्मेवारी स्थानीय नागरिकको हो,’ उनले भने, ‘वडाले मर्मत गर्दैन, बरु सबै घरधुरीलाई सोलार दिन्छ।’ चालू आर्थिक वर्षभित्र हर्रेकाँडाका सबै स्थानीयलाई सोलार वितरण गर्ने बरालले बताए। ‘गाउँपालिकाले एक घर एक सोलार कार्यक्रम चलाएको छ,’ उनले भने, ‘हर्रेकाँडामा पनि सोलार दिन्छौँ तर वायु ऊर्जा मर्मत गर्न सक्दैनौँ।’
गाउँपालिकाका अध्यक्ष तेजबहादुर बस्नेतले भने आयोजना बिग्रिएकोबारे समयमै जानकारी नभएको बताए। ‘वायु ऊर्जा बिग्रिएको जानकारी समयमै पाएनौँ,’ उनले भने, ‘अब हिउँदे अधिवेशनबाट मर्मत गर्न बजेट छुट्याउँछौँ।’ स्थानीयले लिखित रुपमा जानकारी नगराउँदा वायु ऊर्जा मर्मतमा ढिलाइ भएको उनको तर्क छ।