टीकापुर– विद्यालय उमेरका किशोरी खुलेर समस्या भन्न सक्ने वातावरण बनेको छैन।
विद्यालय उमेरका किशोरीका समस्या थुप्रै हुन्छन् तर उनीहरु आफ्ना समस्या शिक्षक तथा शिक्षिकालाई भन्न नसकेको बताउँछन्। विद्यालय किशोरीमैत्री नहुँदा उनीहरुको सिकाइ उपलब्धिमा असर पर्छ।
मोती माविकी छात्रा मुना जीसी आफूलगायत साथीहरूलाई महिनावारीको समयमा बढी समस्या हुने गरेको बताउँछिन्।
‘महिनावारीको समयमा केही साथीलाई पेट दुख्ने समस्या हुन्छ, कसैलाई स्यानिटरी प्याड चाहिएको हुन्छ, विद्यालयमै प्याड पाइन्छ तर साथीहरु शिक्षकसँग माग्न सक्नुहुन्न’, जीसीले भनिन्, ‘कक्षाकै एकजना छात्रालाई प्याड वितरणको जिम्मा दिएको भए साथीहरूले माग्न सक्थे। शिक्षक तथा शिक्षिकासँग म महिनावारी भएँ, मलाई प्याड दिनुस् भन्न सकिँदैन।”
छात्रा आशिका महतो किशोरीमा महिनावारी मात्रै नभएर अन्य खालका समस्या पनि हुने गरेकाले खुलेर समस्या भन्ने वातावरण नभएको बताउँछिन्।
‘किशोरावस्थामा अन्य शारीरिक परिवर्तन, मानसिक तनाव हुन्छ’, आशिकाले भनिन्, ‘कुनै साथीलाई महिनावारीको समयमा दुखाइ हुन्छ, यस्तो बेला विद्यालयमा आराम कक्ष भएको भए राम्रो हुन्थ्यो। कोही साथी घरबाटै तनाव बोकेर आउँछन्। उनीहरूका लागि विद्यालयको वातावरण रमाइलो हुन आवश्यक छ।’
किशोरी सामुदायिक विद्यालयमा छोरीको सङ्ख्या धेरै हुने भएकाले भएका शौचालय पनि किशोरीका लागि पर्याप्त नभएको बताउँछन्।
कक्षा ९ मा अध्ययनरत किशोरी सुष्मा विक एकैपटक शौचालयमा चारपाँच जना छिनुपर्ने बाध्यता रहेको बताउँछिन्।
‘शौचालयमा पानी छ तर छोरीका लागि केही मात्र शौचालय छन्। हामी ६०० छोरी छौँ, अनि शौचालय सफा होला त?’,
सुष्माले भनिन्, ‘महिनावारीका समयमा यी शौचालय प्रयोग गर्न कठिन हुन्छ। महिनावारीको समयमा प्याड व्यवस्थापन कहाँ गर्ने? पोको पारेर घर ल्याएर फाल्नुपर्ने बाध्यता छ।’
यद्यपि शिक्षिका भने छोरीहरुले आफूलाई समस्या खुलेरै बताए सहयोग गर्ने गरेको बताउँछन्। महिनावारी वा अन्य समस्या भए खुलरै आउन शिक्षिका बेवना केसी आग्रह गर्छिन्।
‘हामीलाई छोरीहरुका समस्या कस्ता हुन्छन् भन्ने ज्ञान छ। उनीहरुलाई हरेक कक्षामा समस्या खुलेर भन्न भन्छौ’, केसीले भनिन्, ‘भएका सुविधा दिन, उनीहरुका कुरा सुन्ने, उनीहरुका मनमा गलत कुरा नखेलुन् भनी सचेत छौं।’
शिक्षिका पद्मा बम आफूले किशोरीसँग साथीजस्तै व्यवहार गर्ने गरेको बताउँछिन्।
‘उनीहरुका लागि आरामकक्ष, खाजा खाने छुट्टै ठाउँ आवश्यक छ। सामुदायिक विद्यालयमा धेरै सुविधा छैनन्’, उनी भन्छिन्, ‘छोरीहरुलाई महिनावारीका समयमा साइकल चलाएर विद्यालय आउन कठिन हुन्छ। कसैलाई रगत बढी बगेर कक्षामा बस्नै गाह्रो हुन्छ। उनीहरुका यस्ता समस्या समाधानका लागि अभिभावकसँग पनि छलफल गर्ने गरेकी छु।’
शिक्षिका माया पोखरेलले किशोरीका समस्या बुझेर किशोरीसँग सम्बन्धित क्रियाकलापमा कक्षा लिने गरेको बताइन्।
‘महिनावारीमा सरसफाइ, यौनजन्य हिंसा, बलात्कार, बालविवाहबारे जनचेतना जगाउने काम गरिरहेकी छु’, पोखरेलले भनिन्, ‘किशोरावस्थामा हुने गलत विचार, गलत बाटोबाट छोरीहरुलाई जोगाउन पनि यस्ता क्रियाकलाप आवश्यक छन्।’
विद्यालयलाई छात्रामैत्री बनाउन आफूले पहल गर्ने मोती मावि मोतीनगर व्यवस्थापन समितिका अध्यक्ष पदम गिरी बताउँछन्।
‘छोरा वा छोरी दुवैका लागि वातावरण सहज हुनुपर्छ। हामी सहज वातावरण बनाउन क्रियाशील छौं’, अध्यक्ष गिरीले भने, ‘अब छोरीहरुका समस्याबारे विद्यालयमा नियमित छलफल गर्नेछौं। हामी विद्यालयमा स्वास्थ्य सचेतनाका लागि पनि गाउँपालिकासँग पहल गर्छाैं।’
नेपालको संविधानको धारा ३८ मा रहेको महिलाको हकअन्तर्गत उपधारा ९५० मा ‘महिलालाई शिक्षा, स्वास्थ्य, रोजगारी र सामाजिक सुरक्षामा सकारात्मक विभेदका आधारमा विशेष अवसर प्राप्त गर्ने हक हुनेछ’ भनिएको छ। संविधानमा भनेजस्तै शिक्षा आर्जन गर्न छोरीहरुका लागि विद्यालयमा हुनुपर्ने सुविधा भने पुगेको छैन।
कैलालीका अधिकांश विद्यालय किशोरीमैत्री बन्न सकेको देखिँदैन। जानकी गाउँपालिकाका शिक्षा तथा खेलकूद शाखा प्रमुख धर्मानन्द कपाडी छोरीहरुका लागि विद्यालयमा पर्याप्त सुविधा दिन नसकेको बताउँछन्।
‘पालिकासँग बजेट अभावका कारण हामीले शौचालय, स्यानिटरी प्याडबाहेक अन्य सुविधा दिन नसकेको अवस्था छ। आउँदा दिनमा सबै विद्यालय किशोरीमैत्री बनाउने अभियानमा छौं’, उनी भन्छन्, ‘छोरीका लागि घर र विद्यालय दुवै ठाउँमा विशेष वातावरण चाहिन्छ भन्ने कुरामा हामी गम्भीर छौं। हरेक विद्यालयमा जनचेतना जगाउने खालका कार्यक्रम गर्ने तयारी छ।’ -रासस