आइतबार, जेठ ३, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • नाडा अटो मोबाइल्स एसोसिएसन अफ नेपालले इभी सवारी साधनको मोटर क्षमताबारे धारणा सार्वजनिक गरेको छ।

नाडा अटो मोबाइल्स एसोसिएसन अफ नेपालले इभी सवारी साधनको मोटर क्षमताबारे धारणा सार्वजनिक गरेको छ।

 |  आइतबार, जेठ ३, २०८३

नेपाल समय

नेपाल समय

आइतबार, जेठ ३, २०८३

काठमाडौं- नाडाका अनुसार नेपालमा आयात हुने इभीहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा मान्यताप्राप्त टेस्टिङ एजेन्सीहरू जारी गरेका आधिरकारिक प्राविधिक विवरण, परीक्षण प्रतिवेदन तथा प्रमाणीकरण प्रक्रियाको आधारमा मात्रै आयात हुँदै आएका छन्।

National life

‘सम्बन्धित टेस्टिङ एजेन्सीहरूले प्रदान गर्ने ‘टाइप अप्रुभल’लगायतका प्रमाणपत्रहरू आयात प्रक्रियाका अनिवार्य आधार हुन्, जसमा पिक पावर तथा परीक्षण प्रतिवेदन सम्बन्धी विवरण स्पष्ट रपमा उल्लेख गरिएको हुन्छ,’ नाडाले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

नेपालका इभी व्यवसायीहरूले प्रचलित कानुन, कर तथा भन्सार सम्बन्धी व्यवस्थाको पूर्ण पालना गर्दै पारदर्शी र जिम्मेवार ढंगले व्यवसाय सञ्चालन गरिरहेको भन्दै पर्याप्त प्रमाण, प्राविधिक परीक्षण तथा आधिकारिक निष्कर्षबिना व्यवसायीहरूमाथि ‘कर छली’ वा ‘अनियमितता जस्ता आरोप न्यायोचित नहुने नाडाले बताएको छ।

नेपालमा आएका इभी गाडीहरू सिंगापुर लगायत विभिन्न देशहरूमा पनि समान स्पेसिफिकेसनमै जाने गर्ने भएकोले एउटा कुनै वेबसाइट, मोडल नाम वा बाह्य विवरणका आधारमा मोटर क्षमता सम्बन्धी निष्कर्ष निकाल्नु प्राविधिक रूपमा विश्वसनीय मान्न नसकिने नाडाले भनेको छ।

‘नेपालमा इभीको मोटर क्षमताका आधारमा कर निर्धारणको व्यवस्था रहे पनि परीक्षण तथा प्रमाणीकरण सम्बन्धी स्पष्ट, एकीकृत तथा व्यावहारिक मापदण्ड अझै पूर्ण रूपमा संस्थागत भइसकेको अवस्था छैन,’ नाडाले भनेको छ।

नाडाका अनुसार अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त परीक्षण तथा प्रमाणीकरण निकायबाट जारी प्रमाण पत्रलाई नेपालमा आधिकारिक मान्यता दिने स्पष्ट कानुनी तथा प्राविधिक कार्यविधि तत्काल विकास गरिनु आवश्यक छ। 

यसैगरी नेपालमा विद्युतीय सवारी साधन (इभी) को मोटर क्षमता सम्बन्धमा पछिल्लो समय विभिन्न माध्यममार्फत भइरहेका टिप्पणी, चर्चा तथा व्याख्याप्रति नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले पनि ध्यानाकर्षण भएको जनाइएको छ।

हाल नेपालमा इभी सवारी साधनसँग सम्बन्धित मोटर क्षमता परीक्षण तथा प्रमाणीकरणका लागि स्पष्ट राष्ट्रिय प्राविधिक मापदण्ड, संस्थागत परीक्षण प्रणाली तथा एकीकृत कार्यविधि पूर्ण रूपमा कार्यान्वयनमा नआइसकेकोले विभिन्न तहमा भ्रम, अन्योल तथा फरक-फरक व्याख्या उत्पन्न भइरहेको नाइमाको जिकिर छ।

‘इभी सवारी साधनको प्राविधिक मूल्यांकन आधिकारिक उत्पादक कम्पनीबाट जारी प्रमाणित विवरण, अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त परीक्षण निकायका प्रमाणपत्र तथा स्थापित प्राविधिक मापदण्डका आधारमा गरिनुपर्दछ। साथै, सम्बन्धित सरकारी निकायहरूबीच एकरूप व्याख्या तथा कार्यान्वयन सुनिश्चित गर्न स्पष्ट प्राविधिक कार्यविधि, परीक्षण पूर्वाधार तथा प्रमाणीकरण प्रणाली तत्काल विकास गरिनु आवश्यक छ,’नाइमाले प्रेस विज्ञप्ति जारी गर्दै भनेको छ।

प्रकाशित: May 17, 2026| 10:57 आइतबार, जेठ ३, २०८३
प्रतिक्रिया दिनुहोस्