म्याग्दी- म्याग्दीको मंगला गाउँपालिका–२ कोत्रवाङका एक दम्पतीले बिहेभोजमा हुने खर्च कटाएर आफ्नो टोलमा सडकबत्ती जडान गरेका छन्।
हालै विवाहबन्धनमा बाँधिएका कोत्रवाङका प्रकाश खत्री र राधिका धिताल खत्रीले व्यक्तिगत लगानीमा सडकबत्ती जडान गर्नुभएको हो। सडकबत्ती जडान भएपछि रातको समयमा उज्यालो हुँदा हिँडडुल गर्न सहज, सुरक्षित महसुस र चितुवालगायत वन्यजन्तुको आवतजावत घटेको कोत्रवाङ टोल सुधार संस्थाका अध्यक्ष पूर्णबहादुर विश्वकर्माले जानकारी दिए।
‘नवदम्पतीलाई टोल सुधार समिति र स्थानीय बिहानी आमा समूहले सडकबत्तीको आवश्यकता दर्शाएका थियौं,’ उनले भने, ‘हाम्रो प्रस्ताव स्वीकार गरी प्रकाश र राधिकाले १४ वटा ३० वाट र तीनवटा ५० वाट क्षमताको सडकबत्ती, तारलगायत सबै सामग्री व्यक्तिगत खर्चमा उपलब्ध गराउनुभयो।’
मंगला गाउँपालिकाले बिजुलीको पोलबाहेकका ठाउँमा सडकबत्ती राख्न तीनवटा पोल उपलब्ध गराएको छ। टोल सुधार समितिका अध्यक्ष विश्वकर्माले दुई दिन लगाएर बत्ती जडान गरेका हुन्। सिम, कोत्रवाङ, कुहुँ जाने सडक र काफलचौरको झोलुङ्गे पुलसम्म बत्ती जडान गरिएको छ।
रात परेपछि बल्ने र उज्यालोमा निभ्ने स्वचालित सडकबत्ती जडान गरिएको हो। यसअघि रातको समयमा चितुवा बस्तीमा पस्ने गरेको थियो। झलमल्ल भएपछि चितुवा बस्ती पस्न डराएको र स्थानीयवासी ढुक्क भएको टोल सुधार समितिका अध्यक्ष विकले बताए। कोत्रवाङमा २२ घरपरिवारको बसोबास छ।
प्रकाशका बुबा चित्रबहादुर र दाजु विकास खत्रीले यसअघि कोत्रवाङ हुँदै ताराखेत जोड्ने पदमार्ग निर्माण गरेका हुन्। हाल प्रकाश र उनकी पत्नीले जडान गरेको सडकबत्तीले पनि वस्तीमा सुविधा पुगेको छ।