बिहीबार, भदौ १८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कांग्रेस सभापति र महामन्त्रीको एकै स्वर– सरकारमा जान तयार छौं

कांग्रेस सभापति र महामन्त्रीको एकै स्वर– सरकारमा जान तयार छौं

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सरकारमा जान तयार देखिएको छ।
 |  बुधबार, फागुन १९, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, फागुन १९, २०७७

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सरकारमा जान तयार देखिएको छ। सर्वोच्च अदालतको प्रतिनिधिसभा पुनर्स्थापनाको फैसलापछि नेकपा विभाजन कुर्ने निर्णय गरेको कांग्रेस सरकारमा जान तयार देखिएको हो। 

गत बिहीबार बसेको पदाधिकारी बैठकले नेकपा सग्लो रहेको र नेकपा विभाजनअघि कसैका पक्षमा नखुल्ने निर्णय गरेको थियो। तर, त्यसको एक साता पनि नबित्दै कांग्रेस सरकारमा जान तयार देखिएको छ।

पदाधिकारी बैठकले हतारमा निर्णय नलिने निष्कर्ष निकाले पनि निर्वाचन आयोगले नेकपा विवादको निरुपण नगर्दै कांग्रेस सरकारमा सहभागी हुन तयार भएकाे छ।  

सभापति शेरबहादुर देउवा र महामन्त्री शशांक कोइरालले एकै दिन दिएका अभव्यक्तिले कांग्रेस सरकारमा जान हतारिएको देखिएको छ। 

सभापति देउवाले चितवन पुगेर प्रधानमन्त्रीको अफर आए आफू पछि नहट्ने बताएका छन्। कांग्रेसका दिवंगत नेता तथा पूर्वसांसद एकनाथ रानाभाटको श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै देउवाले प्रधानमन्त्रीको अफर आए पछि नहट्ने बताएका हुन्। ‘कांग्रेसलाई पदको लोभ छैन। प्रधानमन्त्री पदका लागि मरिमेट्ने कुरा पनि छैन। तर काँधमा जिम्मेवारी आयो भने जिम्मेवारी लिनुपर्छ। म पछि हट्दिनँ,’ उनले भनेका छन्।

सभापति देउवा नेकपाको कुन पक्षसँग मिल्ने भन्नेबारे खुलेका छैनन्। तर, देउवाभन्दा एक कदम अघि बढेर महामन्त्री  कोइरालले कांग्रेस नेकपाको दाहाल–नेपाल समूहसँग मिलेर सरकारमा जानुपर्ने बताएका छन्। 

यो पनि : देउवाले पौडेललाई भने– पार्टीकै मान्छे प्रधानमन्त्री हुने हो, सानो चित्त नगर्नुस्

चितवनमा पत्रकारहरुसँग कुरा गर्दै उनले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव कांग्रेस वा दाहाल–नेपाल समूहले दर्ता गर्ने बताए। कांग्रेस सरकारमा नगएर नै नेकपा विभाजन हुन्छ भने सरकारमा जानुको अर्थ नहुने तर नेकपा विभाजन गर्ने हो भने सरकारमा जानुपर्ने धारणा राखेका छन्। 

‘नेकपालाई टुटाउने हो भने कांग्रेस सरकारमा जानुपर्छ। त्यसभन्दा पहिले नै टुट्छ भने सरकारमा गएर केही उपलब्धि हुँदैन,’ उनले भने। 

संयुक्त अविश्वासको प्रस्ताव राख्ने तयारी  

राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी २३ गते प्रतिनिधिसभाको बैठक आह्वान गरेकी छन्। प्रतिनिधिसभा बैठक सुरु भएसँगै प्रधानमन्त्री ओलीविरुद्ध संयुक्त अविश्वासको प्रस्ताव ल्याउने तयारी भएको छ। नेकपा (दाहाल–नेपाल) समूहले  कांग्रेस र राजपासँग मिलेर अविश्वासको प्रस्ताव ल्याउने तयारी गरेको छ।  

नेकपा (दाहाल) नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपाल दुवैले प्रधानमन्त्रीमा आफूहरुको दाबी नरहने बताउँदै आएका छन्। दाहालले कांग्रेस सभापति देउवालाई प्रधानमन्त्री बनाउन सकिने बताउँदै आएका छन्। नेपालले नयाँ प्रधानमन्त्रीको नामबारे आफूहरु खुला रहेको बताउँदै आएका छन्।

ओलीलाई हटाएरै छाड्ने अडानमा रहेका दाहाल–नेपालले गत फागुन १२ गते बुढानिलकण्ठ पुगेर देउवालाई सत्ता साझेदारीको प्रस्ताव राखेका थिए। तर, देउवाले दाहाल–नेपाललाई ठोस् जवाफ भने दिएका थिएनन्। 

प्रतिनिधिसभा विघटनको सिफारिस फासिर भएको दिन (पुस ५) गते नै दाहाल नेपाल समूहले संसद् सचिवालयमा ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका थिए। अहिले उक्त प्रस्ताव अघि नबढाइने भएको छ। कांग्रेस, जसपासँग मिलेर संयुक्त प्रस्ताव लैजाने तयारीमा दाहाल–नेपाल समूह छ।  

देउवाले चितवनमा अहिलेसम्म आफूले कसैसँग प्रधानमन्त्री पद नमागेको बताएका छन्। तर, प्रधानमन्त्रीको प्रस्ताव आए पछि नहट्ने पनि बताएका छन्। यसको अर्थ दाहाल–नेपाल समूहले प्रधानमन्त्री बन्न प्रस्ताव गरे त्यसलाई स्वीकार गर्नु हो।
यद्यपी आफूविरुद्धको अविश्वासको प्रस्ताव असफल बनाउन ओलीले समेत कांग्रेसँग सहकार्यको प्रस्ताव गर्न सक्नेछन्। स्रोतका अनुसार ओली समूहसँग समेत देउवाले छलफल गरिरहेका छन्।  

पार्टीभित्र छैन छलफल 

सभापति देउवा र महामन्त्री कोइरालाले सरकारमा सहभागिताबारे सार्वजनिक कार्यक्रममै अभिव्यक्ति दिइरहँदा कांग्रेसभित्र औपचारिकरुपमा भने कुनै छलफल भएको छैन। नेताहरु पदाधिकारी बैठकले गरेको निर्णय नै अहिलेसम्म पार्टीको निर्णय भएको बताउँछन्।  

‘अहिलेसम्म यसबारेमा औपचारिक छलफल भएको छैन। पदाधिकारीको बैठकको निर्णय नै अहिलेसम्म पार्टीको निर्णय हो,’ नेता डा. नारायण खड्काले भने, ‘सभापति र महामन्त्रीले यसबारेमा बोल्नु भएको छ। अब औपचारिक छलफल होला। त्यसपछि मात्रै भन्न सकिन्छ।’ 

कांग्रेसले शुक्रबारका लागि संसदीय दलको बैठक बोलाएकाे छ। उक्त बैठकमा प्रतिनिधिसभामा प्रस्तुत हुने रणनीति र सरकारमा सहभागिताका बारेमा छलफल हुने बताइएको छ। यस्तै देउवाले केन्द्रीय समितिको बैठकसमेत बोलाउने तयारी गरेका छन्।

प्रकाशित: Mar 03, 2021| 11:00 बुधबार, फागुन १९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।