पोखरा – पोखरा महानगरपालिकाले स्थापना गरेको पोखरा प्रज्ञा प्रतिष्ठानका नव नियुक्त कुलपतिसहित सदस्यहरूले आज शपथ ग्रहण गरेका छन्।
पोखरा महानगरपालिका प्रमुख मानबहादुर जिसीले प्रतिष्ठानका कुलपति पदमराज ढकाललाई शपथ गराएका थिए। कुलपति ढकालले सदस्यहरूलाई शपथ गराएका थिए।
प्राज्ञ सदस्यमा लोकदोहोरी गायक जीवन दाहाल, जनवादी गायक कृष्ण भण्डारी, साहित्यकार प्रकाश ज्ञवाली, कलाकार मिलन शेरचन, कवियत्री सरस्वती श्रेष्ठ र संगीतकार दिलीप गायक छन्।
प्रतिष्ठानमा उपकुलपति र दुई सदस्य रिक्त छन्। ती पदमा पछि नियुक्त गरिने महानगरले जनाएको छ।

११ सदस्यीय सांगठनिक ढाँचाको महानगर प्रज्ञा प्रतिष्ठानमा दुईजना कार्यपालिका बोर्ड सदस्यसमेत रहनेछन् भने महानगरकै प्रमुख प्रशासकीय अधिकृत सदस्य सचिव रहने महानगर प्रज्ञा प्रतिष्ठान ऐनले व्यवस्था गरेको छ।
शपथ ग्रहण कार्यक्रममा बोल्दै महानगर प्रमुख जिसीले पोखरा महानगरभित्रका भाषा, साहित्य, संस्कृति, कला, नाटक तथा संगीतको संरक्षण र सम्वद्र्धन गर्न प्रतिष्ठान स्थापना गरेको बताए।
नेपालका ७५३ स्थानीय तहमध्ये प्रतिष्ठान गठन गर्ने पहिलो भएको भन्दै प्रमुख जिसीले सुरुआती चरणमा केही कमजोरी हुन सक्ने भन्दै त्यसलाई सच्याउँदै जाने बताए।
पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङले पोखरा कला, संगीत, साहित्य र संस्कृतिको उर्वरभूमि भएको बताउँदै सबैलाई एकीकृत गरेर महानगरको पुँजी बनाउन प्रतिष्ठानले भूमिका खेल्नुपर्ने बताइन्।
नवनियुक्त कुलपति पदमराज ढकालले प्रतिष्ठानको उद्देश्य अनुरुप अगाडि बढाउने बताए। उनले पोखरामा सिर्जना ग्राम र सांस्कृतिक ग्राम आवश्यक भएकाले ग्राम स्थापना गर्न प्रतिष्ठानले पहल गर्ने बताए।
देश संघीय संरचना गएपछि पहिलोपटक पोखरा महानगरले प्रज्ञा प्रतिष्ठान ऐन ल्याएको थियो।
महानगरपालिकाको प्रज्ञा प्रतिष्ठान ऐन २०७६ को दफा ८ बमोजिम गठित सिफारिस समितिले गत असोजमा गरेको सिफारिसका आधारमा ढकाल कुलपति अन्य ६ जना सदस्यमा नियुक्त भएका हुन्। समितिले ११ जनाको नाम सिफारिस गरेको थियो।