पोखरा– मेडिकल कलेज २ वटा, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान मातहतको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल, अनि निजी क्षेत्रबाट सञ्चालित सुविधासम्पन्न अस्पताल छन् पोखरामा। तर पनि भरपर्दो स्वास्थ्य सेवाका लागि राजधानी काठमाडौं वा विदेश जानुपर्छ भन्ने छ। रोगको निदान र उपचार भरपर्दो नभएकै कारण काठमाडौं धाउनुको विकल्प छैन पोखरेली र गण्डकी प्रदेशवासीलाई।
आँखाको उपचारमा भने गण्डकी प्रदेश र आसपासका बासिन्दाले यस्तो सास्ती खेप्नु परेको छैन। आँखामा देखिने ९५ प्रतिशत समस्याको समाधान पोखराकै हिमालय आँखा अस्पतालमा हुन्छ। अस्पतालका कामु चिफ मेडिकल डाइरेक्टर डा. इलिया श्रेष्ठ भन्छिन्, ‘अरु रोग लागे अन्यत्र जानुपरे पनि आँखाको उपचारमा पोखराले अन्यत्रकालाई निम्तो दिइरहेको छ।’
आँखा उपचारमा अब्बल दरिएको हिमालय आँखा अस्पतालले पछिल्लो समय शैक्षिक कार्यक्रम समेत सञ्चालन गरेको छ। सिटिइभिटीसँगको सहकार्यमा ३ वर्षे डिप्लोमा इन अप्थाल्मिक साइन्स, पोखरा विश्वविद्यालयसँगको सहकार्यमा ४ वर्षे ब्याचलर अफ अप्टोमेट्रीको पढाइ हिमालय आँखा अध्ययन प्रतिष्ठानले गर्दै आएको छ।
परारबाट नेपालमै पहिलोपटक २ वर्षे मास्टर्स अफ अप्टोमेट्रीको पढाइ हुँदै आएको छ। निकै सस्तो शुल्कमा पोखरामा पढाइ हुँदै आएको र पछिल्ला दिनमा विद्यार्थीहरुको रुचि पनि असाध्यै यसमा देखिएको उनले बताइन्।
अस्पताल स्थापनाको २८ वर्षको अवधिमा १६ लाख जनाको आँखा उपचार भएको निवर्तमान चिफ मेडिकल डाइरेक्टर डा. इन्द्रमान महर्जन बताउँछन्। पोहोरमात्रै
डेढ लाखभन्दा बढीले अस्पतालमै आएर उपचार सेवा लिएका छन्। आँखा शिविरमार्फत् २८ हजारभन्दा बढीको शल्यक्रिया गरिएको छ । आँखाको सामान्य समस्या समाधान गर्न स्थानीयस्तरमै आँखा उपचार केन्द्र सञ्चालनमा आफूहरुको जोड रहेको हिमालय आँखा अस्पताल व्यवस्थापन समिति अध्यक्ष कृष्णबहादुर गुरुङ बताउँछन्। हालसम्म कर्णाली र गण्डकीमा गरी २२ ठाउँमा आँखा उपचार केन्द्र छन्। जुम्लाको सिञ्जा, कालिकोट, बागलुङको बुर्तिबाङ, तनहुँको बन्दीपुर र स्याङ्जाको चापाकोटमा पोहोरमात्र आँखा उपचार केन्द्र सञ्चालनमा ल्याइएको उनले जानकारी दिए।
चस्मा लगाउन नपर्ने गरी गरिने रेटिना सम्बन्धी अप्रेसन सुविधा तिलगंगा आँखा अस्पतालमा मात्रै छ। त्यसबाहेक सबै खालका उपकरण पोखरामै छन्। डा. इलिया श्रेष्ठले भनिन्, ‘चस्मा लगाउन नपर्ने गरी गरिने रेटिना सम्बन्धी अप्रेसन गर्ने मेसिनका लागि पनि दाताहरुले चासो देखाएका छन्। यो वर्षभित्रमा त्यो सपना पनि पूरा हुन्छ होला।’ अस्पतालको आफ्नै प्रयास र दातृ संस्थाहरुको सहयोगले आँखा उपचारमा हिमालय आँखा अस्पताल अब्बल रहेको दाबी डा. श्रेष्ठको छ।
एक तथ्यांकअनुसार मुलुकमा कुल जनसंख्याको १६ प्रतिशतलाई कुनै न कुनै आँखाको रोग छ। ३ प्रतिशत पूर्ण वा आंशिक दृष्टिविहीन छन्। तर नेपालमा ११५ को हाराहारीमा मात्र आँखा विशेषज्ञ छन्। तीमध्ये जम्मा ३० जनामात्र डाक्टर काठमाडौं बाहिर छन्। कम्तीमा १ लाख जनसंख्या बराबर १ आँखा विशेषज्ञ हुनुपर्नेमा २ लाख बराबर १ जना मात्र उपलब्ध छन्। नेत्र सहायक र अन्य प्राविधिकसमेत पर्याप्त नहुँदा नागरिकले चाहेको अवस्थामा आँखाको उपचार पाउन सकेका छैनन्।
तराईभन्दा पहाडी क्षेत्रमा आँखा उपचार समस्या बढी छ। आँखा उपचारको सुविधा तराई र सहरी क्षेत्रमा केन्द्रित भएकाले पहाडी भेगमा उपचार सुविधा सहज हुन सकेको छैन। पहाडी क्षेत्रमा राजधानीबाहिर पोखरामा हिमालय आँखा अस्पताल र पाल्पामा लायन्स लाकौल गरी २ मात्र अस्पताल छन्। बेलाबखत बस्ने आँखा शिविर र मुलुकका २९ ठाउँमा सञ्चालित आँखाको प्रारम्भिक उपचार हुने स्वास्थ्य केन्द्रले सक्दो सेवा दिँदै आएका छन्।
नेपाल नेत्रज्योति संघ कास्कीका अध्यक्ष कृष्णबहादुर गुरुङ हिमालय आँखा अस्पताललाई रिसर्च र जनशक्ति उत्पादनको केन्द्रको रुपमा विकास गर्दै आएको बताउँछन्। संघका सचिव सुरेन्द्र थापामगरले आँखा उपचारमा ख्याति कमाएको हिमालय आँखा अस्पतालमा बर्सेनि इन्टर्नसिपमा आउने विदेशी बाक्लै हुने बताए।
उनका अनुसार बेल्जियम, नेदरल्यान्ड, बेलायत, अस्ट्रेलिया लगायत देशबाट बर्सेनि २५ जनाको हाराहारीमा इन्टर्नसिप गर्न आउने गरेका छन्। उनीहरुले नेपालीमा देखिएको आँखाको समस्या र यहाँ अपनाइएको उपचार विधिबारे सिकेर फर्कने गरेको थापा मगरको भनाइ थियो। हिमालय आँखा अस्पतालका लागि किनिएको ७० रोपनी जग्गामा हाल २६ वटा भवन छन्। गण्डकी प्रदेश सरकारले समेत अस्पताललाई आर्थिक सहयोग गरेको छ।
यस्तो त अस्पतालको कहानी
नेदरल्यान्डबाट नेपाल घुम्न आएको अनिता सिमोन्स र लिन्ड्रेट पार्लेभ्लिटको जोडी जुम्ला पुग्यो। जुम्लाको गाउँमा पुग्दा त्यहाँका नागरिकमा आँखाको समस्या देखेपछि जोडी अवाक् भयो। अब केही गर्नुपर्छ भनेर स्वदेश फर्केको जोडीले च्यारिटीबाट सुरुको वर्ष १० लाख डलर संकलन गरे। अनि सुरु भयो आई केयर फाउन्डेसन नेदरल्यान्ड। त्यही फाउन्डेसनले नेपाल नेत्रज्योति संघसँग मिलेर पोखरामा हिमालय आँखा अस्पताल खोल्यो। त्यही अस्पताल अहिले गण्डकी र कर्णाली प्रदेशको ज्योति बनेको छ।
नेपाललगायत विश्वका १६ मुलुकमा आँखाको क्षेत्रमा सहयोग गर्दै आएको आई केयर फाउन्डेसन नेदरल्यान्डले ३६ वर्ष पार गरेको छ। पोहोर भदौमा पोखरा आएका फाउन्डेसनका संस्थापक लिन्ड्रेट पार्लेभ्लिटले हिमालय आँखा अस्पतालले गरेको प्रगति देखेर खुसी व्यक्त गरेका थिए। उनले भनेका थिए, ‘३५ वर्ष पहिला जे सपना देखेर हामीले नेपालमा काम थालेका थियौं, त्यही अनुसार काम भएको पायौं। यसले हामीलाई धेरै खुसी बनाएको छ।’
अस्पतालले सुरुका ५ वर्ष कमाएको सबै रकम फाउन्डेसनले अस्पतालको कोषमा राखिदिएको छ। त्यसपछिका १० वर्ष १० प्रतिशत कटाएर कोषमा राखिदिएको डा. इलिया श्रेष्ठले बताइन्। त्यसपछि भने फाउन्डेसनले नेपाल नेत्रज्योति संघलाई उक्त अस्पताल पूरै हस्तान्तरण गरेको छ।
२९ औं वर्षमा प्रवेश
हिमालय आँखा अस्पतालले २८ औं वार्षिकोत्सव मनाएको छ। गण्डकी प्रदेश सरकारको सहयोगमा निर्मित दृष्टि परीक्षण भवनसमेत यसै अवसरमा उद्घाटन गरिएको छ। कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले समुदायस्तरबाट सञ्चालित यो अस्पतालबाट आफूले धेरै पाठ सिकेको बताए।
सरकारले बेवास्ता गरेको तर राम्रो काम गरेका संस्थाहरुलाई प्रदेश सरकारले सहयोग आएको जानकारी उनले गराए। उनले भने, ‘मेरो पछाडि पनि सरकार छ। संकटमा परेका बेला हेर्ने सरकार छ भन्ने अनुभूति होस् भनेर सहयोग गरेको हो।’
नेपाल नेत्रज्योति संघका अध्यक्ष प्राडा चेतराज पन्तले पोखरा र नेपाललाई आँखा स्वास्थ्य पर्यटनको केन्द्रका रुपमा प्रवद्र्धन गर्नुपर्नेमा जोड दिए।
कार्यक्रममा नेपाल नेत्र ज्योति संघका उपाध्यक्ष प्राडा दीलबहादुर क्षेत्रीले आँखा उपचारमा ख्याति कमाएर हिमालय आँखा अस्पतालमा सेवा विस्तारका लागि पछिल्लो समय संघ, प्रदेश र स्थानीय सरकारले चासो देखाएकोमा खुसी व्यक्त गरे। नेत्रज्योति संघलाई राजनीतिक हस्तक्षेपबाट मुक्त राखिएको र यो क्रमले आउने दिनमा समेत निरन्तरता पाउने विश्वास व्यक्त गरे।
संघका अध्यक्ष कृष्णबहादुर गुरुङले अस्पतालले प्रदान गर्दै आएको गुणस्तरलाई कायम गर्दै दक्ष जनशक्ति उत्पादनमा आफूहरु केन्द्रित रहेको बताए।
सचिव सुरेन्द्र थापामगरले आँखा अस्पताललाई सेन्टर फर एक्सिलेन्सका रुपमा स्थापित गर्न आफूहरु लागीपरेको बताए। सहरी विकास तथा भवन डिभिजन कार्यालय कास्की प्रमुख डा. महेन्द्र बानियाँले ६५ लाख रुपैयाँ लागतमा भवन तयार भएको जानकारी गराए।
वार्षिकोत्सवको अवसर पारेर कर्मचारीहरु मीना राई र तुलसीकुमारी ढकाललाई जनही नगद २० हजार रुपैयाँसहित सम्मान गरिएको छ। कर्मचारी युनियनले गरेको खेलकुद प्रतियोगिताका विजेता तथा सहभागीलाई पनि उक्त अवसरमा पुरस्कार प्रदान गरियो।