काठमाडौं- ज्येष्ठ नागरिक ग्रामका परिकल्पनाकार तथा सामाजिक अभियन्ता मित्रसेन दाहालको स्मृतिमा ५ करोड रुपैयाँको अक्षयकोष घोषणा भएको छ।
सामाजिक अभियानमा सक्रिय रहँदा रहँदै हृदयघातबाट मृत्यु भएपछि उनको १२ औं पुण्य तिथिमा अक्षयकोष घोषणा गरिएको हो। दाहालको यही फागुन ७ गते ५८ वर्षको उमेरमा निधन भएको थियो।
मित्रसेन दाहालको बहुआयामिक व्यक्तित्वलाई चीरस्थायी बनाइराख्न र मैत्री सेवा आश्रमसहित अन्य विविध सामाजिक कार्यलाई सहयोग पुर्याउन कोषको रकमबाट आएको आम्दानी खर्चने कोष सञ्चालक समितिले जनाएको छ।
दर्जनौं सामाजिक संस्थामा आवद्धता, हजारौं विद्यार्थीलाई छात्रबृति सहयोग गरेका मित्रसेन दाहालले मृगौला प्रत्यारोपणपछि मैत्री सेवाश्रम नामक जेष्ठ नागरिक ग्रामको सुरुवात गरेका थिए।
दाहालले करिब एक दशकमै काठमाडौंको लव्सेफेदीमा ३३ वटा घरसहितको जेष्ठ नागरिक ग्राम स्थापित गरेका थिए। थप सय रोपनी जमिनमा अझ धेरै सुविधासम्पन्न ग्राम निर्माणको योजना भने दाहालको निधनसँगै अलपत्र परेको छ।