बिहीबार, भदौ १८, २०८३

हिन्दी हरर फिल्म : दर्शक डराउँछन्, तर पैसा कमाउँदैनन्

अभिनेता अमिताभ बच्चनले समेत दुई हरर फिल्ममा अभिनय गरेका छन्।
 |  मंगलबार, फागुन १८, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन १८, २०७७

हिन्दी फिल्म भन्नेबित्तिकै धेरैको दिमागमा नाचगान, पारिवारिक, एक्सन र कमेडी फिल्मको सम्झना आउँछ। तर बितेका केही वर्षयता हिन्दी फिल्म इन्डस्ट्रीमा सबैभन्दा उपेक्षित मानिएको हरर फिल्मलाई समेत स्थान दिने गरिएको छ। केही ठूला स्टारले समेत हरर फिल्ममा काम गरेका छन्।  

अनुष्का शर्माको ‘परी’, अक्षयकुमारको ‘लक्ष्मी’, राजकुमारको ‘स्त्री’, विक्की कौशलको ‘भूत’ र अहिले जान्हवी कपूरको ‘रूही’ यो सूचीमा समावेश छन्।

के हो हरर फिल्म ?

फिल्म इतिहासकार तथा समीक्षक अमृत गंगर हरर फिल्ममा भारतीय सौन्दर्य शास्त्रमा पश्चिमी शैलीले प्रभाव देखिने बताउँछन्।

शब्दकोषका अनुसार अंग्रेजी शब्द हररको अर्थ आतंक हुन्छ। जसमा भयानक रस र रुद्र रस समावेश हुन्छ। जसले भावनात्मक भयको व्याख्या गर्छ। तर पश्चिमी प्रभावका कारण हररलाई भूत–प्रेतका फिल्मसँग जोडिन्छ।

हिन्दी सिनेमामा हरर फिल्मको सुरुवात

फिल्म इतिहासकार एसएमएम असूजा हिन्दी फिल्ममा हरर शैलीको फिल्म साइलेन्ट एराबाट सुरु भएको बताउँछन्। पारिवारिक दर्शक नहुँदा यस फिल्म शैलीले खासै माया पाएन र त्यो समयमा हररको नाममा केवल थ्रिलर फिल्म बन्थे।

सन् १९२० को दशकमा साइलेन्ट एरा भएका फिल्म माथि कुरा गर्दै गंगर भन्छन्, ‘त्यो समयमा पौराणिक फिल्म हरर फिल्मको श्रेणीमा आउँथे। किनकी ती फिल्ममा भय र आतंक देखाइन्थ्यो।’ 

सन् १९१७ मा आएको दादा साहेब फाल्केको फिल्म लंका दहन समेत हरर फिल्ममा गनिन्थ्यो। जुन फिल्मलाई पौराणिक फिल्मको श्रेणीमा राखिन्छ। सन् १९२४ मा काला नाग नामक फिल्म आएको थियो। त्यसलाई समेत हरर फिल्मका रुपमा लिइन्छ। सन् १९४९ मा बनेको फिल्म महल सबैभन्दा राम्रो उदाहरण हो। यो साइलेन्ट एरा ६० को दशकसम्म जारी थियो।

०७० को दशकमा रामसेको भूतिया कहानी

०७० को दशकमा हिन्दी फिल्मका एंग्री योङ म्यान अमिताभ बच्चन फिल्म इन्डस्ट्रीमा आफ्नो झण्डा गाडिरहेका थिए। त्यही बेला रामसे ब्रदर्सले आफ्नो छोटो भूतको कथा भएको हिन्दी सिनेमा बनाएर इतिहास बनाइरहेका थिए। 

‘दो गज जमीनके निचे’, ‘दरवाजा’, ‘पुराना मन्दीर’, ‘तहखाना’, ‘वीराना’ जस्ता हरर फिल्म बनाएर उनीहरुले इन्डस्ट्रीमा दुर्लभ हरर शैलीलाई बचाएका थिए।

फिल्म इतिहासकार एसएमएम असूजा भन्छन्, ‘उनीहरुले बुझेका थिए– केवल हरर फिल्म चल्दैनन्। त्यसैले उनीहरुले हररको साथमा कामुकता समेत जोडे। जुन एक राम्रो मिश्रण सावित भयो। सोही कारण उनीहरुको फिल्म जीवित रहन सफल भए।’

फिल्म ट्रेन्ड विश्लेषक अतुल मोहन भन्छन्, ‘रामसे ब्रदर्सले निकै सस्तो लागतमा फिल्म बनाउँथे। उनका परिवारबाटै निर्माता, निर्देशक, मेक–अप आर्टिस्ट, एडिटर र प्राविधिक टिम समेत हुन्छ। कम बजेटमा चाँडो फिल्म बनाउँथे। त्यसैले फिल्मबाट चाँडै कमाउँथे।’

०९० को दशकमा फेरिएको हररको रुप

यो त्यो समय थियो, जब दुनियाँ बदलिरहेको थियो। हिन्दी सिनेमा समेत बदलिरहेको थियो। त्यही समयमा हरर फिल्मलाई ब्री ग्रेड फिल्मको दर्जा दिइयो। त्यसमा परिवर्तन आइरहेको थियो।

फिल्म इतिहासकार गंगार भन्छन्, ‘रामसे ब्रदर्स ब्रान्डको हरर फिल्म आज समेत बनिरहेका छन्। बाहिरी व्यापारको दबाबका कारण पश्चिमी फिल्मको प्रभाव हिन्दी फिल्ममा समेत पर्न थालेको थियो। नयाँ पिँढीको रुझान पश्चिमा हरर फिल्ममा थियो। प्रविधि समेत राम्रो हुन थालेको थियो।’

फिल्म इतिहासकार एसएमएम असूजा गोपाल बर्माको सन् १९९२ मा अभिनेत्री रेवतीसँग आएको फिल्म ‘रात’ले हरर फिल्मको बाटो परिवर्तन गरेको बताउँछन्।

‘रात त्यो फिल्म थियो, जसमा केवल हरर कहानीमा मात्रै थियो। यो बहुचर्चित फिल्म बन्यो। राम गोपाल बर्माले फिल्मको प्रचार थ्रिलर फिल्मको जसरी गरे। जसका कारण दर्शक हलसम्म तानिए,’ उनी भन्छन्। उनी यही फिल्मले हरर फिल्मलाई बी ग्रेडबाट माथि उठाएको बताउँछन्।

हरर फिल्मले किन कमाउन सक्दैनन् ?

राम गोपाल बर्माको फिल्म ‘रात’पछि हरर फिल्म मूलधारे फिल्मको श्रेणीमा परिवर्तन भए। तर हरर फिल्मले बक्स अफिसमा चमत्कार गर्न सकेनन्। औंलामा गन्न सकिने केही मात्रै हरर फिल्म छन्, जसले कमाएका छन्। यो सूचीमा ‘भूत’, ‘राज’, ‘१९२०’, ‘रागिनी एमएमएस’ र ‘तुमबाड’ लगायत छन्। 

फिल्म ट्रेन्ड विश्लेषक अतुल मोहन हरर फिल्ममा समर्पित फ्यानले हिन्दी र अंग्रेजी दुवैलाई चाख मानेर हेर्ने गरेको बताउँछन्। सोही कारण केही हलिउड फिल्मले भारतमा राम्रो कमाइ गर्ने गरेको तर ती फिल्मको संख्या कम रहेको उनको भनाइ छ। फिल्म इतिहासकार असूजा हरर फिल्म बी–ग्रेड फिल्मसँग जोडिएकाले पारिवारिक दर्शकले नहेर्ने बताउँछन्। तर हलिउडको हरर फिल्मले राम्रो कमाइ गर्नुको कारण ती फिल्म बी ग्रेडको दर्जासँग नजोडिएको उनको भनाइ छ।

‘यदि हरर फिल्म कम बजेटमा बनाइयो भने त्यसमै समर्पित फ्यानले हेर्छन् र त्यो फिल्मले राम्रो कमाउँछ। ठूलो बजेटमा हरर फिल्म बनाउँदा लगानी उठाउन गाह्रो पर्छ,’ उनी भन्छन्, ‘हरर फिल्मलाई ए सर्टिफिकेट दिइन्छ। त्यसैले टिभी र स्याटेलाइटमा बेच्न सकिँदैन। अहिलेको समयमा स्याटेलाइट कमाउने ठूलो माध्यम हो। ठूला स्टारले समेत हरर फिल्म काम गर्दा स्याटेलाइटका माध्यमबाट आम्दानी हुँदैन, त्यसैले उनीहरु हरर फिल्मबाट टाढै रहन्छन्।’

ठूला स्टार टाढा रहनुको कारण 

हिन्दी हरर फिल्ममा ठूला स्टार अक्सर देखिँदैनन्। ‘यदि कसैले हरर फिल्म बनाउन चाह्यो भने उसले ठूला स्टार साइन गर्न सक्दैन। उसले ब्री ग्रेडका स्टारलाई लिनुपर्छ,’ असूजा भन्छन्, ‘जब फिल्ममा बी ग्रेड स्टार्स हुन्छन्, तब दर्शकलाई थिएटरसम्म तान्न मुस्किल हुन्छ। त्यसैले अंग प्रदर्शन र कामुकता जस्ता चिजको सहारा लिनुपर्छ।’

ठूला स्टार आफ्नो इमेज र पब्लिसिटीलाई लिएर समेत असुरक्षित महसुस गर्ने असूजा बताउँछन्। ठूला स्टारले पर्दामा राक्षस वा कुनै जनावरले आफ्नो शिकार गरोस् भन्ने चाहँदैनन्। त्यसैले हरर फिल्ममा ठूला स्टारलाई देख्न मुस्किल हुन्छ।

सन् १८७९ मा आएको राजकुमार कोहलीको फिल्म जानी दुश्मनमा ठूला स्टारले अभिनय गरेका थिए। यो फिल्ममा सञ्जीव कुमार, शत्रुघन सिन्हा, सुनील दत्त, रेखा, रिना राय, नीतू सिंह जस्ता कलाकारले अभिनय गरेका थिए। यो फिल्म र यसका सबै गीत सुपरहिट बनेका थिए।

राम गोपाल बर्माको फिल्म ‘भूत’मा पनि अजय देवगन, रेखा, तनूजा, नाना पाटेकर र उर्मिला मातोन्डरले अभिनय गरेका थिए। यो फिल्मले हरर फिल्मसँग जोडिएका पुराना धारणा परिवर्तन गरेको थियो।

राम गोपाल बर्माका अन्य हरर फिल्म समेत आए। जसमा ‘डरना मना है’, ‘फँकू’ ‘डरना जरुरी है’ हुन्। तर यी फिल्म ‘भूत’ जस्तो सफल बन्न सकेनन्। 

अभिनेता अमिताभ बच्चनले समेत दुई हरर फिल्ममा अभिनय गरेका छन्। उनले होम प्रोडक्सनको ‘अक्स’ र रामगोपाल बर्माको फिल्म ‘डरना जरुरी है’मा अभिनय गरे। दुवै फिल्म थ्रिलर जानराका थिए, जसमा हररको भाव थियो। 

–बीबीसी हिन्दीबाट 
 

प्रकाशित: Mar 02, 2021| 15:25 मंगलबार, फागुन १८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।