जनकपुरधाम– जनकपुरधाममा चार दिवसीय जनकपुर साहित्य महोत्सव आयोजना हुन लागेको छ।
बुधबारदेखि शनिबारसम्म चल्ने महोत्सवमा सामाजिक, सांस्कृतिक, साहित्यिक, राजनीतिक विषयका विज्ञहरूले विभिन्न सत्रमा प्रस्तुति दिनेछन्।
महोत्सव उद्घाटन बुधबार पूर्वराष्ट्रपति डा. रामवरण यादवले गर्नेछन्। उद्घाटन समारोहको प्रमुख वक्ताका रूपमा सांसद विनोद चौधरीलाई बोलाइएको छ।
नवमिथिला फाउन्डेसनको आयोजनामा हुन लागेको साहित्य महोत्सवमा १५ वटा सत्रमा ४५ जना वक्ता सहभागी हुने महोत्सवका निर्देशक दिलभूषण पाठकले जानकारी दिए।
यस्त छन् महोत्सवका सत्र
महोत्सवको औपचारिक सत्र ‘जानकी मन्थन’ शीर्षकबाट हुनेछ। यस सत्रमा कांग्रेसका नेता प्रदीप गिरी, राजनीतिक विश्लेषक सीके लाल, मैथिलीका वरिष्ठ साहित्यकार डा. राजेन्द्र विमल, भारतीय साहित्यकार डा. आशा प्रभाले आ–आफ्नो विचार राख्नेछन्।
‘जाऔं जनकपुर सुदर्शनजी’ सँग शीर्षकमा जनकपुरधामको पहिलो टुरिस्ट गाइड सुदर्शनलाल कर्णसँग मानसी अग्रवालले कुराकानी गर्नेछिन्। मानसी सामाजिक सञ्जालमा नेपालको पर्यटनको विकासलाई लिएर आफ्नो पृथक प्रस्तुतिका कारण चर्चामा छन्।
‘प्रविधि र संस्कृति’ विषयक सत्रमा विश्वास ढकाल र डा. भोगेन्द्र झाको प्रस्तुति रहनेछ।
‘साहित्यको सीमाञ्चल’ सत्रमा भारतका मनोजकुमार सिंह, राजा पुनियानी, धनगढीका साहित्यकार रामलाल जोशी र जनकपुरका साहित्यकार अशोक दत्तको सहभागिता रहनेछ भने सो सत्रको सहजकर्ताकोे भूमिका सञ्चारकर्मी एवं साहित्यकार चन्द्रकिशोरले गर्नेछन्।
‘किताब : वर्णदेखि वस्तुसम्म’ सत्रमा कल्पना ढकाल, भुषिता वशिष्ठ, राजीवधर जोशी, गणेश लाठको सहभागिता रहनेछ।
‘राजनीतिको राग कहाँदेखि कहाँसम्म’ सत्रमा नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिसँग पत्रकार सुधीर शर्माले कुराकानी गर्ने तयारी छ। निधि सो सत्रमा सहभागी नभए जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई सहभागी गराउने प्रयास भइरहेको आयोजकले जनाएको छ।
महोत्सवको तेस्रो दिन ‘मैथिली मिठास’ सत्रमा परमेश्वर कापडी र डा. कुलप्रसाद कोइराला रहनेछन्। यो सत्रको प्रस्तोता बद्रीनाथ झा रहनेछन्।
‘देश मधेस : गन्थन–मन्थन’ शीर्षकको सत्रमा सीके लालसँग सुजित महतले कुराकानी गर्नेछन्।
प्रदेशका मुख्यमन्त्रीले भोगिरहेका पीडा उजागर गर्ने उद्देश्यले ‘मुखियाको पीडा’ शीर्षकमा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले आफ्नो विचार राख्नेछन् भने सो सत्रको सहजकर्ता दिलभूषण पाठक रहनेछन्।
‘भविष्यको राजनीति र राजनीतिको भविष्य’ विषयक सत्रमा कांग्रेस नेता गगन थापा, नेकपा नेत्री रामकुमारी झाँक्री, विवेकशील साझाका रवीन्द्र मिश्र, विश्लेषक तुलानारायण साहको सहभागिता रहनेछ।
‘स्वतन्त्र समाज र विचारहरू’ सत्रमा साहित्यकार रोशन जनकपुरीसँग पत्रकार अमित ढकालले कुराकानी गर्नेछन्।
महोत्सवको चौथो तथा अन्तिम दिनको पहिलो सत्र ‘वैदेहीहरू’ रहनेछ भने लगत्तै आआफ्नै कथा शीर्षकमा गन्थन मन्थन गरिनेछ।
सोही दिन ‘सिनेमाको रङ’ सत्रमा चलचित्र अभिनेता राजेश हमाल, अभिनेत्री मनीषा कोइराला, रवीन्द्र झा, अनुप बराल लगायतका कलाकार सहभागी हुनेछन्।
‘सम्पादनको सकस’ नामक सत्रमा सम्पादन कला तथा सम्पादनका क्रममा हुने समस्याका विषयमा छलफल गरिनेछ।
‘अन्तर्वार्ताकारहरुको अन्तर्वार्ता’ सत्रमा भूषण दाहाल, दिलभूषण पाठक, आरती चटौत र नवराज लम्सालसँग रुपेश श्रेष्ठले अन्तर्वार्ता लिनेछन्।
सोही दिन ‘कविता सत्र’ सँगै महोत्सव समापन गरिनेछ।