फुङलिङ– ताप्लेजुङको मेरिङदेन गाउँपालिका–३ र आठराई त्रिवेणी गाउँपालिकाको सङ्गमस्थल दोभान बजारमा आज बिहान भएको आगलागीबाट ७९ परिवार विस्थापित भएका छन्। आगलागीबाट २२ जना डेरावाल पनि पीडित बनेका छन्।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख बालरनसिंह राणाका अनुसार ४७ घर जलेर नष्ट भएका छन्। आगलागीमा परेर लक्ष्मी बैंकको शाखा कार्यालय, ग्लोबल आइएमई बैंकको शाखा कार्यालय र आर्इएमई मनि ट्रान्सफरको एउटा शाखा कार्यालय पूरै नष्ट भएको स्थानीयवासी गणेश कार्कीले जानकारी दिए।
जिल्लाको दोस्रो ठूलो बजार हो दोभान। यस बजारमा करिब एक सय व्यापारिक भवन छन्। तीमध्ये ४७ घरमा रहेका किराना पसलदेखि खाद्य स्टोर, हार्डवेयरलगायत सबै पसल जलेर नष्ट भएको प्रहरी प्रमुख राणाको भनाइ छ। उनले भने, ‘आगलागीबाट भएको क्षतिको विवरण अब सङ्कलन गर्छौं।’
आज बिहान करिब ९ बजे सुरु भएको आगलागी दिउँसो करिब १ बजे नियन्त्रणमा आएको थियो। दुई वटा दमकलको प्रयोग गरेर बस्तीमा लागेको आगो नियन्त्रणमा लिइएको थियो। बजारमा लागेको आगो बस्ती नजिकै रहेको जंगलमा समेत सल्किएको बताइएको छ।
आगलागीमा परेका पीडितलाई बस्ती नजिकैको खाली ठाउँमा पाल टाँगेर बस्ने व्यवस्था मिलाइएको छ। पीडितहरुलाई उद्योग वाणिज्य संघले खानेकुराको प्रबन्ध गर्ने र रेडक्रसले लत्ताकपडाको व्यवस्था मिलाउने तयारी गरेका छन्।