काठमाडौं– नेत्रविक्रम चन्द ‘विप्लव’ समूहमाथि लगाइएको प्रतिबन्ध फुकुवाको टुंगो वार्ताबाट नै लाग्ने सरकारी पक्षले जनाएको छ।
सरकारले आज गठन गरेको वार्ता टोलीका सदस्य एवम् प्रधानमन्त्री केपी ओलीका परराष्ट्र मामिला सल्लाहाकार डा. राजन भट्टराईले वार्ताबाट नै यसको टुंगो लाग्ने बताएका हुन्।
‘वार्ता टोली भर्खरै गठन भएको छ। अब सरकारले राम्रो तयारी गरेर वार्तामा बस्छ,’ उनले भने। उनले प्रतिबन्ध फुकुवा गर्ने विषय वार्ताबाट नै टुंगो लाग्ने जानकारी दिए।
‘फुकुवाको टुंगो वार्ताबाट नै हुन्छ। अहिले सबै कुरा गर्ने भए त वार्तामा नै बस्नुपर्ने थिएन नि,’ उनले भने,‘ हामी वार्तामा बस्छौं र वार्ताबाट नै सबै कुराको टुंगो लाग्छ।’
सरकारले गृहमन्त्री रामबहादुर थापाको संयोजकत्वमा आज वार्ता टोली गठन गरेको हो। प्रधानमन्त्री केपी शर्मा ओलीले केही दिनअघि झापामा र हिजो पोखरामा आयोजित कार्यक्रममा छिट्टै विप्लव समूहसँग वार्ता हुने बताएका थिए। त्यसलगत्तै आज वार्ता टोली गठन गरिएको हो।
उता ‘विप्लव’ समूहले पनि आजै वार्ता टोली गठन गरिएको जानकारी दिएको छ।
‘नेपाल सरकारसँग देशका राजनीतिक, आर्थिक र राष्ट्रिय स्वाधीनताका विषयमा वार्तामा बस्न हाम्रो जनप्रिय पार्टी नेपाल कम्युनिस्ट पार्टी सहमत भएको छ। पार्टीका तर्फबाट वार्तामा सहभागी बन्न पार्टीका केन्द्रीय समिति सचिवालय सदस्य एवम् प्रवक्ता क. प्रकाण्डको नेतृत्वमा केन्द्रीय सदस्य क. दीपक सदस्य रहेको दुई सदस्यीय उच्चस्तरीय वार्ता टोली गठन गरिएको जानकारी गराउँदछौं,’ उक्त समूहले विज्ञप्ति जारी गरेर भनेको छ।
सरकारले ०७५ फागुन २८ गते विप्लव समूहमाथि प्रतिबन्ध लगाएको थियो। प्रतिबन्धयता विप्लवका सचिवालय सदस्यलगायत सयौं नेता–कार्यकर्ता पक्राउ परिसकेका छन्। फागुन दोस्रो सातासम्म विप्लव निकट दुई हजारभन्दा बढी नेता–कार्यकर्ता पक्राउ परिसकेका छन्।
विप्लवले प्रतिबन्ध फुकुवा, नेता–कार्यकर्ताको रिहाइ र सबै मुद्दा खारेज हुनुपर्ने माग राख्दै आएको छ।