काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक डाकेका छन्।
सर्वोच्च अदालतले संसद् पुनःस्थापनाको फैसला गरेपछि पहिलोपटक शुक्रबार साँझ मन्त्रिपरिषद् बैठक बस्न लागेको हो।
कृषि तथा पशुपन्छीमन्त्री पद्माकुमारी अर्यालले बेलुकी ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक बस्न लागेको जानकारी दिइन्।
उनले बैठकका एजेन्डाका बारेमा जानकारी नभए पनि पछिल्लो राजनीतिक परिस्थिति र मन्त्रालयका गतिविधिबारे छलफल हुने बताइन्।
सर्वोच्चले फागुन ११ गते संसद पुनःस्थापनाको फैसला गर्दै १३ दिनभित्र प्रतिनिधिसभाको अधिवेशन आह्वानका लागि परमादेश जारी गरेको थियो।
सर्वोच्चको आदेशअनुसार आजको मन्त्रिपरिषद् बैठकले संसद् बैठक बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गर्ने बुझिएको छ।
बिहीबार साँझ प्रधानमन्त्रीले संसदको बैठक बोलाउने विषयमा नै राष्ट्रपति विद्यादेवी भण्डारीसँग छलफल गरिसकेका छन्।