काठमाडौं- प्रतिनिधिसभा विघटनको विरुद्धमा सर्वोच्च अदालतमा रिट हालेको नेकपा दाहाल–नेपाल समूहले सर्वोच्चको फैसला आएपछि आज विजय जुलुश निकाल्ने भएको छ।
सर्वोच्चले प्रतिनिधिसभा पुनर्स्थापना गर्न आदेश दिएपछि नेकपाले विजय जुलुश निकाल्न लागेको हो।
आज बुधबार अदालतको फैसलाको स्वागत गर्दै देशैभर विजय जुलुश निकाल्न लागिएको पार्टीले जनाएको छ।
काठमाडौंमा आयोजना हुने जुलुसमा अध्यक्षद्वय पुषपकमल दाहाल र माधवकुमार नेपाल सहभागी हुनेछन्। मध्यान्ह १२ बजे हुने जुलुशमा सहभागी हुन उनीहरु चितवनबाट आउन लागेका छन्। त्यहाँ आज हुने भनिएको विरोध सभामा सहभागी हुन उनीहरु पुगिसकेका थिए।
नेकपाको उक्त समूहले आजै संसदीय दलको बैठक डाकेको छ। संसद् पुनर्स्थापना भएपछि पार्टीले संसदीय दलको बैठक डाकेको हो।
अपराह्न ४ बजे दलको बैठक डाकिएको प्रवक्ता नारायणकाजी श्रेष्ठको सचिवालयले जनाएको छ।
नेकपा संसदीय दलका अध्यक्ष एवम् प्रधानमन्त्रीले पुस ५ गते संसद् विघटन गरेपछि नेकपा दुई चिरामा विभाजित बनेको छ।
यद्यपि निर्वाचन आयोगले आयोगमा यसअघि दर्ता भएको केपी शर्मा ओली र पुष्पकमल दाहाल अध्यक्ष भएको नेकपालाई नै आधिकारिक भनेको छ।