काठमाडाैं- दाहाल-नेपाल समूहको नेकपाले संसद् पुनर्स्थापना भएपछि नेपाली जनता, संविधान, लोकतन्त्र, सत्य र न्यायको विजय भएको ठहर गरेकाे छ।
पार्टीले प्रतिनिधिसभा पुनर्स्थापना गर्ने सर्वोच्च अदालतको फैसलालाई स्वागत गर्दै यस्तो प्रतिक्रिया जनाएको हो।
प्रवक्ता नारायणकाजी श्रेष्ठले मंगलबार बेलुका जारी गरेको विज्ञप्तिमा उल्लेख छ, 'सर्वोच्च अदालतले
संविधानको अक्षर, मर्म र भावनालाई आत्मसाथ गरी तदनुरुप संविधान सम्मत फैसला गरेर प्रतिनिधिसभालाई मात्र बचाएको छैन, संविधान र लोकतान्त्रको रक्षामा समेत ऐतिहासिक योगदान पुर्याएको छ।'
फैसलाले संविधानलाई लिकमा ल्याएको र देशलाई प्रतिगमन तथा राजनीतिक संकटको अँध्यारो सुरुङमा धकेल्न चाहने सत्तालोलुप सर्वसत्तावादी एवम् सबै प्रकारका अलोकतान्त्रिक तथा निरंकुश शक्तिहरुको अपेक्षा र षड्यन्त्रलाई असफल बनाइदिएको विज्ञप्तिमा उल्लेख छ।
विज्ञप्तिमा उल्लेख छ, 'यो निर्णयले इतिहासका विभिन्न कठिन मोडहरुमा झैं फेरि एकपटक नेपालको अदालत सबै प्रकारका धम्की र दबाबबाट मुक्त भई स्वतन्त्र ढंगबाट निर्णय गर्न सक्षम छ भन्ने पुष्टि गरेको छ। हाम्रो पार्टी यसको उच्च मूल्यांकन गर्दछ।'
पार्टीले प्रतिनिधिसभा विघटनको असंवैधानिक एवम् प्रतिगामी कदमलाई खारेज गर्न संघर्ष गर्ने र आआफ्नो ठाउँबाट भूमिका निर्वाह गर्ने सबै राजनीतिक पार्टीहरु, नागरिक समाज, पूर्वप्रधानन्यायाधीशहरु, संविधान एवम् कानुनविद्हरु, पत्रकार, बुद्धिजीवि र आमजनसमुदायलाई हार्दिक बधाई दिँदै आभार र धन्यवाद व्यक्त गरेको छ।
नेकपाले संविधान र लोकतन्त्रको पक्षमा नेपाली जनताले देखाएको यो अभूतपूर्व जागरण र एकतालाई निरन्तर कायम राख्नुपर्ने आवश्यकतामा जोड दिएको छ।
यस्तै नेकपाले अहिले असंवैधानिक एवम् प्रतिगामी कदम परास्त र असफल भएको भए पनि प्रतिगामी षड्यन्त्र एवम् निरंकुशतन्त्रको खतराका विरुद्ध सचेत भइरहन सबैलाई अपिल गरेको छ।
विज्ञप्तिमा उल्लेख छ, 'हाम्रो पार्टी नेपाली जनताले बलिदानीपूर्ण संघर्षबाट प्राप्त गरेको संघीय लोकतान्त्रिक गणतन्त्रसहितको ऐतिहासिक राजनीतिक परिवर्तन, संविधान र लोकतन्त्रको रक्षाको संघर्षमा अग्रपंक्तिमा रह्यो। अबको नयाँ परिस्थितिमा नयाँ ढंगले अगाडि बढ्न पनि हामी गम्भीर जिम्मेबारी बोध गर्दछौं।'
पार्टीले अब संविधानको प्रभावकारी कार्यान्वयन, लोकतन्त्रको उन्नत अभ्यास एवम् सुदृढीकरण, सुशासन, सामाजिक आर्थिक रुपान्तरण, सामाजिक न्यायसहितको समृद्धि र समाजवादको आधार निर्माण लगायतका विषयमा गम्भीर आत्मसमिक्षासहित सबै लोकतान्त्रिक शक्तिसँग हातेमालो एवम् सहकार्य गर्दै नयाँ ढंगले अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेको छ।