बिहीबार, भदौ १८, २०८३

बिहारका मान्छे पेट्रोल लिन किन आउँछन् नेपाल ?

इन्धनको भाउ भारतमा यही रफ्तारमा बढिरहेको अवस्थामा र तस्करीसमेत नियन्त्रण गर्न नसकेको अवस्थामा सीमा क्षेत्रका पेट्रोल पम्प बन्द गर्नुपर्ने अवस्था आउन सक्छ।
 |  मंगलबार, फागुन ११, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन ११, २०७७

रक्सोल / वीरगन्ज- नेपालसँग सीमा जोडिएको भारतीय सहर रक्सोलमा युगल किशोर शिकारिया पछिल्लो तीन दशकदेखि पेट्रोल पम्प चलाइरहेका छन्।

उनले चार वर्षअघिसम्म दैनिक सातदेखि आठ हजार लिटर डिजेल र पेट्रोल बेच्थे। तर, अहिले भने उनको बिक्री घटेर दैनिक १५ सयदेखि दुई हजार लिटरमा आएको छ।

यसको कारण रक्सोलमा सवारीसाधन कम भएर होइन। छिमेकी देश नेपालमा भारतभन्दा सस्तोमा डिजेल–पेट्रोल भएका कारण सीमावर्ती क्षेत्रमा तस्करी बढेको हो। स्थानीय मानिसले नेपाल गएर आफ्नो सवारीमा इन्धन भरिरहेका छन्।

नेपालको औद्योगिक नगरी वीरगन्जसँग जोडिएको रक्सोलको सीमा बिहीबार नेपाल प्रहरीका जवानले ट्यांकरमा भरेर लगिँदै गरेको १ हजार ३६० लिटर पेट्रोल जफत गरेका छन् र तीनजनालाई पक्राउ गरेका छन्। 

‘खुला सिमाना छ। त्यसैले तस्करले ग्यालिन र ड्रममा तेल हालेर भारत ल्याइरहेका छन्। साथै सडक मार्गमा समेत ठूला ट्रक र ट्यांकरमा भरेर पेट्रोल–डिजेल ल्याइरहेका छन्,’ युगल किशोर भन्छन्, ‘यहाँका स्थानीय नेपाल गएर तेल भर्छन्। जो डराउँछन्, उनीहरुले मात्रै यहाँ तेल हाल्छन्।’

इन्धनको भाउ भारतमा यही रफ्तारमा बढिरहेको अवस्थामा र तस्करी समेत नियन्त्रण गर्न नसकेको अवस्थामा सीमा क्षेत्रका पेट्रोल पम्प बन्द गर्नुपर्ने युगल किशोरको भनाइ छ। पेट्रोल पम्पको मर्मत र स्टाफ खर्च समेत जुटाउन गाह्रो हुने उनी बताउँछन्।

रक्सोलसँग सीमा जोडिएको वीरगन्जमा शनिबार भारतको तुलनामा डिजेल भारु २७.५० पैसा सस्तो थियो। पेट्रोलको मूल्य भारु २३ रुपैयाँ कम थियो।

भारतबाट खरिद गरिने पेट्रोल–डिजेल नेपालमा किन सस्तो छ? 

नेपालले पेट्रोलियम पदार्थ भारतबाट खरिद गर्छ। भारतमा इन्डियन आयल कर्पोरेसनसँग नेपाल आयल निगमको साझेदारी छ। नेपालका जुन क्षेत्र भारतसँग सीमा जोडिएका छन्, त्यहाँ सप्लाइ र वितरणको काम आईओसीले गर्ने गरेको छ।

तेलको कारोबारमा लामो अनुभव भएका युगल किशोर भारतले जुन मूल्यमा कच्चा तेल किन्छ, सोही मूल्यमा नेपालले पनि किन्ने बताउँछन्। तर नेपालमा तेलमा लाग्ने कर प्रणाली भारतमा भन्दा फरक छ। ‘नेपालमा एक किसिमको मात्रै कर लाग्छ। तर हाम्रोमा पहिले केन्द्रको एक्साइज ड्युटीलाई कर तिर्नुपर्छ। राज्यमा भ्याट तिर्नुपर्छ। भारतको एक्साइज ड्युटीलाई तिर्ने करभन्दा कम नेपालमा तिर्नुपर्छ,’ उनी भन्छन्, ‘नेपालमा जो तेल भारतबाट जान्छ, त्यो रिफाइन भएर जान्छ।’

नेपालमा अहिले प्रतिलिटर तेलमा करिब ४० रुपैयाँ कर लिइन्छ। जसमा प्रदूषण नियन्त्रण, पेट्रोलियम इन्फ्रास्ट्रक्चर, सडक मर्मत जस्ता शीर्षकमा कर लिइन्छ। भारतमा केन्द्रीय एक्साइज ड्युटी र राज्यको भ्याट समेत जोड्दा ५० रुपैयाँ भन्दा बढी कर तिर्नुपर्छ।

कसरी भइरहेको छ तस्करी ?

सस्तो डिजेल–पेट्रोल किन्न भारतका मानिस नेपाल आउन गाह्रो छैन। यस्तै नेपालका मानिसलाई समेत भारत आउन कुनै समस्या पर्दैन। स्थानीय मानिसको व्यापारिक र पारिवारिक सम्बन्ध नेपालसँग छ। खुला सिमाना भएका कारण नेपाल प्रवेशका लागि हजारौं बाटाहरु छन्।

रक्सोल सहर घुमिरहेका सयौं दुई पांग्रे र चार पांग्रे सवारी साधन देखिन्छन्, जसमा नेपालको रातो नम्बर प्लेट हुन्छ। यस्तै नेपालको वीरगन्जमा भारतीय नम्बर प्लेट भएका सवारी देखिन्छन्। 

‘सीमाको १५–२० किलोमिटरको दूरी आसपासमा बस्ने मानिसका लागि नेपाल जानु कुनै गाह्रो कुरा होइन। तैपनि राजमार्गबाट जान मानिसहरु डराउँछन्। किनकी अहिलेसम्म नेपाली प्रशासनले प्रवेश खुलाको छुट दिएको छैन,’ स्थानीय पत्रकार अभिषेक पान्डेय भन्छन्, ‘तर अनेकौं बाटा छन्। जसबाट सहजै जान सकिन्छ र सोही बाटो भएर ग्यालिन र ड्रममा तेल भरेर ल्याउन सकिन्छ।’

अभिषेकले रक्सोल–वीरगन्ज मुख्य मार्गबाट गरिने तस्करीको तरिकाका बारेमा भने, ‘आम नागरिकका लागि भारतबाट नेपाल जान शर्त लागू हुन्छ। तर ठूला गाडी र ट्यांकर आउने–जाने क्रम निरन्तर हुन्छ। लकडाउनको समयमा समेत यी गाडी आउने–जाने क्रम चलिरह्यो।’

अभिषेकका अनुसार जुन गाडी नेपाल जान्छ, उसले अतिरितm तेल भरेर फर्कन्छ। हालै पक्राउ परेको ट्यांकरले समेत यसको पुष्टि गरेको छ। जुन ट्यांकरबाट तेल लिएर नेपाल जान्छ, उसले पेट्रोल पम्पका मालिकसँग साँठगाँठ गरेर तेल फिर्ता लिएर आउँछ। यस्ता ट्यांकर पक्राउ गर्न प्रहरीका लागिसमेत मुस्किल हुन्छ। किनकी चेकिङ केवल ट्यांकर र चालकको मात्रै हुन्छ। ट्यांकर भित्र केछ भनेर हेरिँदैन।

के छ नेपालका पेट्रोल पम्पको स्थिति ?

एकातर्फ भारतका सीमावर्ती क्षेत्रका पेट्रोल पम्पमा अहिले तेल बिक्री घटेको छ। अर्कोतर्फ नेपालका सीमावर्ती क्षेत्रका पेट्रोल पम्प गुलजार छन्। पर्साको वीरगन्ज नजिकैको श्री दुर्गा पेट्रोल पम्पमा भारतीय नम्बर प्लेटका गाडी तेल हाल्न लाइनमा देखिन्छन्।

त्यतिमात्रै होइन, ग्यालेनमा पेट्रोल भर्नेहरुको संख्यासमेत ठूलै हुन्छ। मोटरसाइकलमा तेल भर्न आएका एक भारतीय नागरिक भन्छन्, ‘म रक्सोलको हुँ। सीमामा कुनै समस्या भएन। यो हाम्रो व्यवसाय हो। यहाँ २३ रुपैयाँ सस्तोमा पट्रोल पाइन्छ भने भारतमा किन हाल्ने ? एक पटक ट्यांकी फुल गर्ने हो, एक साता पुगिहाल्छ।’

–बीबीसी हिन्दीबाट 
 
 

प्रकाशित: Feb 23, 2021| 11:53 मंगलबार, फागुन ११, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।