सुर्खेत– सल्यानमा दाहाल–नेपाल समूहको नेकपामा विवाद भएको छ। सोमबार केन्द्रीय सचिवालयले जिल्ला अध्यक्ष र सचिव चयन गरेसँगै विवाद भएको हो।
केन्द्रीय सचिवालयले जिल्ला अध्यक्षमा धिरेन्द्र श्रेष्ठ र सचिवमा कर्णबहादुर बुढाथोकी ‘छहारी’लाई चयन गरेको छ। श्रेष्ठ पूर्व एमालेका पुराना नेता हुन् भने बुढाथोकी पूर्वमाओवादी नेता हुन्। बुढाथोकी पार्टी विभाजनअघि पनि सचिव थिए।
पूर्व एमालेबाट अध्यक्ष बनेका गोविन्द पुन केपी ओली समूहमा लागेका छन्। नयाँ नेतृत्व छनोट गर्दा दाहाल–नेपाल समूहका सचिव बुढाथोकीलाई निरन्ता दिएर अध्यक्षमा श्रेष्ठलाई ल्याएको हो। तर बुढाथोकीले भने आफू नै आधिकारिक अध्यक्ष भएको दाबी गरेका छन्।
‘पार्टी विभाजनदेखि मैले अध्यक्षको भूमिका निभाउँदै आएको छु,’ उनले भने, ‘नेतृत्व चयनमा केन्द्रले गल्ती गरेको छ, पार्टीको आधिकारिक अध्यक्ष पनि मै हुँ।’ केन्द्रीय सचिवालयले गरेको अन्याय निर्णयलाई सच्याउनु पर्ने उनको माग छ।
पार्टी विभाजनपछि पूर्व माओवादी एक ढिक्का भएको तर पूर्व एमाले मात्र विभाजन भएको भन्दै जिल्ला अध्यक्ष आफूले पाउनुपर्ने उनको तर्क छ। ‘अल्पमतले बहुमतलाई चलाउँछु भन्नु अन्यायपूर्ण हुन्छ’ उनी भन्छन्, ‘केन्द्रले गरेको अपत्तिजनक निर्णय तत्काल सच्चाउनुपर्छ।’ पार्टीले निर्णय नसच्याए गम्भीर परिणाम भोग्नुपर्ने उनको चेतावनी छ।
१० वर्षे सशस्त्र विद्रोहमा भूमिगत जीवन विताएका उनी नेकपा बन्नुअघि माओवादी केन्द्र सल्यानको अध्यक्ष थिए। २०७४ सालको प्रदेश र संघको चुनावमा माओवादी र एमालेको एलाइन्स बिरुद्धमा उभिएका थिए। देशभर माओवादी र एमालेले मिलेर चुनाव लड्दा उनको समूहले भने जिल्लामा प्रदेश र संघ दुबैमा बागी उम्मेदवारी दिएको थियो। तर बागी उम्मेदवारले चुनाव हारेका थिए