काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली कञ्चनपुर प्रस्थान गरेका छन्। कञ्चनपुरको दैजी छेला औद्योगिक क्षेत्रको शिलान्यास गर्न ओली केही बेरअघि कञ्चनपुर प्रस्थान गरेका हुन्।
उनका प्रेस विज्ञ रामशरण बजगाईंले नियमित उडानमार्फत् प्रधानमन्त्री धनगढी प्रस्थान गरेको जानकारी दिए।
गेटा विमानस्थलबाट प्रधानमन्त्री सडक मार्ग हुँदै कञ्चनपुरको दैजी पुग्ने कार्यक्रम रहेको छ।
प्रधानमन्त्री आउने भएपछि कञ्चनपुरको सुरक्षा व्यवस्था कडा पारिएको छ। लामो समयदेखि अलपत्र परेको कञ्चनपुरको दैजीछेला औद्योगिक क्षेत्रको प्रधानमन्त्रीले शिलान्यास गर्न लागेका हुन्।
पहिलोपटक बजेट विनियोजन भएको २५ वर्षपछि कञ्चनपुरको दैजीछेला औद्योगिक क्षेत्रको शिलान्यास गर्न लागिएको हो।
२०५२ सालमा तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीको नेतृत्वको सरकारले सो औद्योगिक क्षेत्र स्थापना गर्न पहिलोपटक बजेट विनियोजन गरेको थियो।
९ अर्बको लागतमा पाँच वर्षभित्र निर्माण सम्पन्न हुने गरी दैजी छेला औद्योगिक क्षेत्रको निर्माण हुन लागेको बताइएको छ।