जनकपुरधाम- प्रदेश नम्बर २ का नवनियुक्त प्रदेश प्रमुख राजेश झाले शिरमा देश र मनमा मधेश राखेर काम गर्ने अठोट व्यक्त गरेका छन्।
जन्मभूमिमा प्रदेश २ को प्रदेश प्रमुखको रुपमा कार्य थालनी गरेकोले शिरमा देश र मन मधेश रही रहने उनले बताए।
आइतबार पदभार ग्रहण गर्दै प्रदेश प्रमुख झाले देश, जनता र संविधानलाई पहिलो र महत्वपूर्ण आधार बनाएर प्रदेश २ भित्रका प्रत्येक नागरिकलाई साझा, शान्त, समृद्ध र समभावसहितको समाज निर्माणमा भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे।
उनले भने, ‘जात, जन्म, स्थान वा घनत्वको आधारमा दम्भ वा भय निर्माण भइरहँदा समाज अशान्त र नागरिक असुरक्षित हुनसक्छ। प्रत्येक नागरिकलाई साझा र अपनत्वसहितको प्रदेश निर्माणमा मेरो भूमिका कायम रहनेछ।’
उनले प्रदेश २ भित्र रहेका विविधता, संस्कृतिको रक्षा, पहिचानको सम्मान, सद्भाव, विश्वास, देशप्रेम, भाइचारा र नागरिकमैत्री सरकार निर्माण गर्दै जानुपर्ने आवश्यक्ता रहेको बताए। देशहित र अब्बल प्रदेश निर्माण गर्न सुशासन, साझापन, सवलीकरण र सहकार्यको विकल्प नरहेकोले कतिपय पक्षमा तत्काल सुधारको खाँचो रहेको उनको भनाइ छ।
उनले भने, ‘देशभक्ति, आतिथ्य सत्कार र समृद्ध सांस्कृतिक इतिहास बोकेको प्रदेश २ मा काम गर्ने सौभाग्य पाएको छु।
विविधतालाई अवसरको रुपमा लिने, अनुशासन, इमान्दारिता र माटोप्रति प्रेम कायम राख्दै प्रदेश २ लाई सकारात्मक रुपमा उदाहरणीय बनाउने कार्यमा बल पुर्याउने छु, आन्तरिक विभेद, असुरक्षा, कुनैपनि खाले दम्भ, अहंकार, दमन र अपराधलाई हामी सबै मिलेर समाधान गर्दै जानुपर्छ।’