जनकपुरधाम- प्रदेश २ का नवनियुक्त प्रदेश प्रमुख राजेह झा ‘अहिराज’लाई जनकपुरधामस्थित विमानस्थलमा भव्य स्वागत गरिएको छ।
४ बजेर ४५ मिनेटमा जनकपुरधाम विमानस्थल आइपुगेका प्रदेश प्रमुख झालाई १०१ किलोको माला लगाएर स्वागत गरिएको हो।
प्रदेश प्रमुखलाई स्वागत गर्न मुख्यमन्त्री लालबाबु राउत भने आएनन्। उनलाई प्रदेश २ को आन्तरिक मामिला तथा कानून राज्यमन्त्री सरोज सिंह कुश्वाहाले स्वागत गरेका थिए।
यसअघि रत्नेश्वर लाल कायस्थलाई प्रदेश प्रमुखबाट हटाएर तिलक परियारलाई प्रदेश प्रमुख नियुक्त गर्दा मुख्यमन्त्री स्वयम् स्वागत गर्न पुगेका थिए।
परियारको कार्यशैली ठीकै भए पनि उनलाई हटाएर राजेश झालाई प्रदेश प्रमुखमा नियुक्त गरिएकोमा प्रदेश सरकारका मुख्यमन्त्री तथा मन्त्रीहरु असन्तुष्ट देखिएका थिए। सोही कारण स्वागतका लागि नपुगेको हुनसक्ने अनुमान गरिएको छ।
झालाई स्वागत गर्न नेकपाको ओली समूहका युवाहरू मोटरसाइकल जुलुशसहित विमानस्थल पुगेका थिए। उनलाई स्वागतका लागि नेकपाको भ्रातृ संगठन युवा संघको केन्द्रीय उपाध्यक्ष सञ्जीव कुमार झाले १०१ किलोको माला लगाएर स्वागत गरे।
विमानस्थल पुगेका ती युवाहरुले केपी ओली जिन्दावादको नारासमेत लगाएका थिए। प्रदेश प्रमुख झा विमानस्थलबाट जानकी मन्दिर दर्शनका लागि पुगेका छन्।