काठमाडौं- नेकपाको ओली पक्षीय राष्ट्रिय युवा संघ नेपालले प्रत्येक तहको कमिटी प्रणालीमा छुट्टै साइबर सेनाको युनिट निर्माण गर्ने भएको छ।
माघ २५ देखि २६ गतेसम्म काठमाडौंमा सम्पन्न भएको बैठकले साइबर सेनाको युनिट निर्माण गर्दै एकढिक्का भएर प्रतिकार गर्न युवाशक्ति परिचालन गर्ने निर्णय गरेको हो।
मौलिकतामा हासिल गरेका उपलब्धिहरु क्षतविक्षत पार्ने ध्येय राखी नेपाललाई पुनः अस्थिरतातिर धकेलेर सामरिक स्वार्थको खेलौना बनाउनेहरु फरक रुपमा उत्रिएको पाइएको भन्दै प्रतिकारमा उत्रिने निर्णय भएको युवा संघले जनाएको छ।
‘कुकर्मको केही कथित बौद्धिक अराजकतावदीहरुले अगुवाइ गरिरहेका छन्। तीनमा केही कम्युनिस्ट शक्तिकै नाउँमा, केही पुरातनवादी र केही अतिवादी एवम् बाहिरी प्रतिक्रियावादीहरुको गठजोड देखिन्छ,’ अध्यक्ष बचनबहादुर सिंहले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
युवा संघले केही मिडियाका नाउँमा, केही कोलमिस्टका नाउँमा, केही विश्वविद्यालयका बुज्रुकका नाउँमा समेत उभिएकाहरुले मुलुकले लिएको मार्गचित्रलाई नै दिग्भ्रमित पार्ने एवम् वातावरण धमिलाउने कुचेष्टा गरेको भन्दै तीनको प्रतिकार गर्ने नीति अघि सारेको जनाएको छ।
काठमाडौंमा सम्पन्न भएको बैठकले बचन बहादुर सिंहको अध्यक्षतामा कमिटी पुनर्गठन गरेको हो।
बैठकले चैत मसान्तभित्र ७७ वटा जिल्ला कमिटी, १ सय ६५ वटा संघीय निर्वाचन क्षेत्र समन्वय कमिटी, ३ सय ३० प्रदेश निर्वाचन क्षेत्र समन्वय कमिटी, ७५३ स्थानीयतह अन्तर्गत वडास्तरसम्म कमिटी निर्माण गर्ने भएको छ।
चैत मसान्तभित्र जहाँ युवा त्यहाँ राष्ट्रिय युवा संघको मान्यताअनुरुप कम्तीमा ५ लाख सदस्यता विस्तार गर्ने निर्णय पनि गरेको छ।
पार्टी फुटाउन प्रचण्ड–माधव नेतृत्वले छद्म रुपमा चोर बाटोबाट संवैधानिक संस्था राष्ट्रपतिमाथि महाभियोग र मुलुकको कार्यकारी संस्था प्रधानमन्त्रीमाथि अविश्वासको प्रस्ताव दर्ता गरी मुलुकलाई नै अराजकता र अनिश्चयको भूमरीमा लैजाने दुस्साहस गरेको युवा संघको आरोप छ।
अराजकताको अन्त्य, राजनीतिक स्थिरता, सविधानको रक्षा, राष्ट्रिय स्वाधीनता र विकासको निरन्तरताका लागि चुनाव घोषणा गरिएको भन्दै चुनावमा क्रियाशील हुने जनाएको छ।
स्वदेश फर्किएको र स्वदेशमा भएको युवा जनशक्ति पनि राज्यको नीति तथा कार्यक्रममा पूर्णरुपमा जोडिन नसकिएको भन्दै उक्त परिस्थितिलाई मध्यनजर गर्दै संविधान प्रदत्त युवा हकअधिकार र सरकारद्वारा घोषित युवामैत्री नीति कार्यक्रमलाई पूर्णतः युवाले सदुपयोग गर्ने वातावरण बनाउन सरकारसँग माग पनि गरेको छ।