मसुरिया (कैलाली)- कामकाे सिलिसलामा जहाँ र जता पुगे पनि कला धामी समय मिलाएर डेढ वर्षे नाबालक छोराछोरीलाई दूध चुसाउन आइपुग्थिन्। डेढ वर्षका जुम्ल्याहा दिदीभाइ आमाको स्नेह र दूध खान पाउँदा मग्न हुन्थे।
फागुन २ गते नजिकैको जंगलमा स्याउला लिन गएकी कला त्यसपछि कहिल्यै फर्किनन्। उनी नफर्किएपछि डेढ वर्षका दिदीभाइले आमाको दूध मात्र होइन न्यानो काख पनि गुमाए। उनीहरुकी चार वर्षीया जुम्ल्याहा दिदीले पनि आमाको स्नेह गुमाएका छन्।
कैलालीको गौरीगंगा नगरपालिका ५ अन्डैयाकी २५ वर्षीया कला धामीको पाटेबाघको आक्रमणबाट मृत्यु भएपछि चार र डेढ वर्षका चार जना जुम्ल्याहा बालबालिका टुहुराे भएका छन्।
पुष्पाञ्जली सामुदायिक वनमा स्याउला लिन गएकी धामीलाई फागुन २ मा पाटेबाघले आक्रमण गरेको थियो। उनको आक्रमण भएको केही पर मृत अवस्थामा उनको शव भेटिएको हो। उनलाई आक्रमण गरे पनि बाधले शवमा कुनै क्षति पुर्याएको भने थिएन।
आमालाई बाघले खाइदिएपछि चार वर्षीया जुम्ल्याहा छोरी र डेढ वर्षका जुम्ल्याहा छोराछोरीको रेखदेख र स्याहारसुसारमा उनकी जेठी आमा सीतादेवी धामी लागेकी छन्।
समाचार संकलनका क्रममा शनिबार दिउँसो उनको घर पुग्दा सीतादेवी नाबालक छोराछोरीलाई खाना खुवाइरहेकी थिइन्।
‘के गरौं हजुर! आमालाई बाघले खाइदिएपछि यी नाबालक मैले सम्हालिरहेकी छु। एक साता भयो सुत्न दिएका छैनन्’, उनले भनिन्, ‘दिनभर त जसोतसो खेलाउँछु, खेल्छन्, रात परेपछि मम्मीमम्मी भनेर रुन्छन्, आमाको दूध खोज्छन्।’
उनी आफ्नो दूध चुसाउँछिन्। भैंसीको दूधमा केटाकेटीलाई भुलाउने प्रयत्न गर्छिन्। ‘मेरो बच्चा आठ वर्षको भइसक्यो दूध नै आउँदैन’, उनले भनिन्, ‘दूध नआएपछि झन् मान्दैनन, के गरुँ, कसो गरुँ?’
आँगनमा टोलाइरहेका बालबालिकालाई जाउलो खुवाइरहेकी सीतादेवीले मलीन हुँदै भनिन्, ‘न सम्झाउन सकिने उमेरका छन्, न बुझ्ने अवस्थाका। यी नाबालक छन्, के गरेर सम्हाल्नु?’
कलाका पति गणेश धामी वैदेशिक रोजगारीको सिलसिलामा कतारमा थिए। पाटेबाघको आक्रमणबाट पत्नीको मृत्यु भएपछि उनी हतारमा घर पुगे।
‘बुझ्ने उमेरका भए अर्कै हुन्थ्यो, नाबालक छन्, कसरी सम्हालुँ’, गणेशले भने, ‘जतिबेला पनि मम्मी-मम्मी भन्छन्।’ उनलाई पत्नी गुमाउनुनको पीडा त छँदै छ, त्योभन्दा बढी सकस र पीडा साना बालबालिकाको अवस्थाले दिने गरेको छ।
२६ वर्षीय गणेशका बालबालिकालाई कलाको निधन भएदेखि सीताले स्याहार गर्दै आएकी छन्। उनले आफू नसुतेर, नखाएर सकेजति स्याहार गरेकी छन्। तर नाबालकले जब आमा खोज्छन् सीतादेवी र गणेश नाजवाफ हुन्छन्, भक्कानिन्छन्।
पाटेबाघ अझै नियन्त्रणमा आएको छैन। यसअघि पाटेबाघले कैलारी गाउँपालिका-८ को दुधिया वनमा सोही गाउँका दुर्गा चौधरीलाई आक्रमण गरिसकेको छ। बाघले आक्रमण गरेर चौधरीको पिठ्युँ र टाउकोमा चोट लागेको छ। उनको उपचार भइरहेको छ।
सबडिभिजन वन कार्यालय मसुरियाका सहायक वन अधिकृत चन्द्र भण्डारीले वन्यजन्तुबाट हुने क्षतिको राहत सहयोग निर्देशिका ०६९ तेस्राे संशोधन ०७५ अनुसार सहयोगका लागि पहल भइरहेको बताए। निर्देशिकामा मृतकको आश्रित परिवार र हकवालालाई १० लाख राहत दिने लेखिएको छ।
राहत पाउँदा यी बालबालिकाको पालनपोषणमा त केही राहत होला तर गणेश भन्छन्, ‘अरुको यस्तो अवस्था नहोस्, मेरा नाबालक छोराछोरीलाई मैले आमा कहाँबाट ल्याउनु?’