विराटनगर– प्रदेश १ मा मानव अधिकार उल्लंघन र ज्यादतीका घटनामा ८१३ जना पीडित भएका छन्। गत वर्ष ८५२ जना पीडित भएका थिए।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश १ कार्यालय विराटनगरले शुक्रबार नेपाल मानव अधिकार वर्ष पुस्तक २०२१ सार्वजनिक गर्दै यस्तो जानकारी दिएको हो।
सन् २०२० मा प्रदेश १ मा गिरफ्तारीका घटनामा ३१ जना, महिला अधिकार उल्लंघनका घटनामा ३२५ जना, हत्याका घटनामा ८२ जना, बाल अधिकार उल्लंघनका घटनामा २९९ जना पीडित भएका छन्।
सन् २०१९ मा प्रदेश १ मा मानव अधिकार उल्लंघन र ज्यादतीका घटनामा ८५२ जना पीडित भएको इन्सेकका प्रदेश १ प्रमुख सोमराज थापाले जानकारी दिए।
नेपाल मानव अधिकार वर्ष पुस्तक सार्वजनिक गर्दै प्रदेश १ मुख्यन्यायाधिवक्ता चूडामणि आचार्यले महिला र बालबालिकाको अवस्थामा अझै उल्लेख्य रुपमा सुधार हुन नसकेको बताए।
इन्सेकको वर्ष पुस्तक अध्ययन गर्दा समग्र मानव अधिकारको अवस्थाबारे थाहा हुने उनले बताए।
राष्ट्रिय मानव अधिकार आयोग प्रदेश १ कार्यालय प्रमुख नितु बर्तौलाले धेरै घटनाहरु इन्सेकको बर्ष पुस्तकमा समावेश भएको बताए।
इन्सेक प्रदेश १ कार्यालयका प्रमुख सोमराज थापाले सोमराज थापाले मानव अधिकार वर्ष पुस्तकले मानव अधिकार उल्लंघनकर्तालाई दवाव सिर्जना गर्ने बताए।
वर्ष पुस्तकले राज्यलाई पनि वर्षभरिका घटनाबारेमा अवगत हुने बताए।
कार्यक्रममा प्रदेश १ को उत्कृष्ट जिल्ला प्रतिनिधिका रुपमा ताप्लेजुङ प्रतिनिधि देवराज गुरुङलाई पुरस्कृत गरिएको छ।