काठमाडौं – नेकपा दाहाल–नेपाल समूहको केन्द्रीय कमिटी बैठक पेरिसडाँडामा सुरु भएको छ।
प्रतिनिधिसभा विघटनविरुद्ध चरणबद्ध आन्दोलनमा रहेको सो समूहले केन्द्रीय कमिटीका सदस्यहरूलाई आकस्मिकरूपमा केन्द्रीय कार्यालयमा भेला हुन निर्देशन दिएको थियो।
पुस ५ मा प्रतिनिधिसभाको विघटन भएपछि नेकपा राजनीतिकरूपमा विभाजित बनेको छ।
नेकपाको आधिकारिकताका सम्बन्धमा अहिलेसम्म टुंगो लागेको छैन।
निर्वाचन आयोगले माघ ११ गते दुवै पक्षले बुझाएको विवरणलाई अद्यावधिक गर्न नसकिने निर्णय गरिसकेको छ।
आज बहुमत केन्द्रीय सदस्यहरू नागरिकताको सक्कलसहित आफैं उपस्थित भएर आयोगलाई दबाब दिन जाँदैछन्।
नेकपाका ४४१ केन्द्रीय सदस्य रहेकामा तीमध्ये २७३ जनाको हस्ताक्षरसहित दाहाल–नेपाल पक्षले आयोगमा आधिकारिताको दाबी गरेको छ।
प्रतिनिधिसभा विघटनपछि आगामी वैशाख १७ र २७ गते निर्वाचन घोषणा भइसकेको छ। तर, नेकपाको विवाद अझै निरुपण हुन सकेको छैन।
आयोगले तत्कालै नेकपाको विवादका बारेमा टुंगोमा पुग्ने बताइरहे पनि निर्णय गर्न सकेको छैन। उता सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दा विचाराधीन छ।