बिहीबार, भदौ १८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • नागरिकता र परिचयपत्र बोकेर दाहाल–नेपाल समूह निर्वाचन आयोग जाँदै

नागरिकता र परिचयपत्र बोकेर दाहाल–नेपाल समूह निर्वाचन आयोग जाँदै

नेकपाको दाहाल–नेपाल पक्ष बहुमत केन्द्रीय सदस्यको नागरिकता र परिचयपत्र बोकेर शुक्रबार निर्वाचन आयोगमा जाने भएको छ।
 |  शुक्रबार, फागुन ७, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन ७, २०७७

काठमाडौं– नेकपाको दाहाल–नेपाल पक्ष बहुमत केन्द्रीय सदस्यको नागरिकता र परिचयपत्र बोकेर शुक्रबार निर्वाचन आयोगमा जाने भएको छ।

निर्वाचन आयोग जानुअघि दाहाल–नेपाल पक्षले १२ बजे पार्टी कार्यालय पेरिसडाँडामा केन्द्रीय सदस्यहरूलाई भेला हुन भनेको छ।

बिहीबार नै एसएमएसमार्फत खबर पठाएर उपत्यकाबाहिर भएका केन्द्रीय कमिटी सदस्य र उपत्यकामा रहेका केन्द्रीय कमिटीका सबै सदस्यलाई उपस्थित हुन भनिएको थियो।

उनीहरूलाई नागरिकताको सक्कल र केन्द्रीय कमिटीको परिचयपत्रसहित उपस्थित हुन भनिएको थियो।

केन्द्रीय सदस्यहरुको भेलाअघि अहिले पेरिसडाँडामा स्थायी कमिटीको अनौपचारिक बैठक बसिरहेको छ।

पुस ५ मा प्रतिनिधिसभा विघटन भएपछि नेकपा ओली, दाहाल–नेपाल दुई समूहमा विभाजित भइसकेको अवस्था छ। दाहाल–नेपाल पक्षले निर्वाचन आयोगमा माघ २० गते नै आधिकारिकता दाबी गरिसकेको छ।

निर्वाचन आयोगले अहिलेसम्म पनि निर्णय गरेको छैन। आयोगले माघ ११ गते नै पुस ५ यताका दुवै पक्षका कुनै पनि निर्णय अद्यावधिक नगर्ने निर्णय गरिसकेको छ।

दाहाल–नेपाल समूहले आयोगले आधिकारिकताका विषयमा निर्णय नगर्ने संकेत देखिएको भन्दै आयोगमै बहुमत केन्द्रीय सदस्यहरु उपस्थित भएर आफ्नो भनाइ राख्ने तयारी गरेको हो। 

‘आयोगले निर्णयमा ढिलाइ गरेकाले दबाब दिनका लागि सबै जना नागरिकता र परिचयपत्रसहित उपस्थित हुन लागेका हौं,’ एक केन्द्रीय सदस्यले भने, ‘पार्टी कार्यालयमा भेला भएर त्यसपछि आयोग जाने कार्यक्रम छ।’

नेकपा केन्द्रीय सदस्य विष्णु रिजालले १२ बजे पार्टी केन्द्रीय कार्यालयमा भेला हुने विषयमा मात्रै आफूलाई जानकारी आएको बताए।

भेलापछि अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपालसहितका सबै नेताहरु आयोगको कार्यालयमा जाने बताइएको छ। 

नेकपा केन्द्रीय सदस्यको परिचयपत्रमा अध्यक्ष केपी शर्मा अ‍ोली र पुष्पकमल दाहाल प्रचण्डको हस्ताक्षर छ। नेकपाको दाहाल–नेपाल समूहले केपी शर्मा ओलीलाई अध्यक्ष र साधारण सदस्यसमेत नरहने गरेर पार्टी कमिटीबाट हटाएको निर्णय गरिसकेको छ।

ओली पक्षले भने पार्टी कमिटीको संरचनामा दाहाललाई कार्यकारी भूमिकाबाट हटाएको छ भने प्रवक्ताबाट नारायणकाजी श्रेष्ठलाई हटाएको छ। त्यसबाहेकका कमिटीको संरचनामा कुनै फेरबदल गरेको छैन।

प्रकाशित: Feb 19, 2021| 05:00 शुक्रबार, फागुन ७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।