काठमाडौं - राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा ५९५ जना कैदीबन्दीको कैद सजाय माफ गरिएको छ।
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले कैदीबन्दीको सजाय माफ गरेकी हुन्।
नेपालको संविधानको धारा २७६ बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा फागुन ७ गतेदेखि लागू हुने गरेर उनीहरूको कैद सजाय मिनाहा गरिएको हो।
सर्वोच्च अदालतको २०७७–४–१९ को परमादेश समेतको आधारमा फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ लागू हुनु पूर्व गरेको कसूरमा जन्मकैदको सजाय भई बिहीबारसम्म कम्तीमा ५० प्रतिशत कैद भुक्तान भएको र असल चालचलन भएका सुदीप लिम्बु समेत १७९ जना कैदीको भुक्तान हुन बाँकी कैद कट्टा गरी माफी मिनाहा भएको छ।
त्यस्तै ४०१ जना कैदीहरूको भुक्तान हुन बाँकी कैद कट्टा गरी माफी मिनाहा भएको छ।
१५ जना व्यक्तिहरूको विभिन्न अदालतबाट विभिन्न मितिमा भएका फैसलाबमोजिम लागेको कैद, जरिवाना, सर्वस्व लगायतको सजाय माफी भएको राष्ट्रपतिको कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ।