सुर्खेत- कर्णाली प्रदेश लोकसेवा आयोगमा पदाधिकारीहरु नियुक्त भएका छन्। कर्णाली प्रदेश सरकारको सिफारिसमा पदाधिकारीहरु नियुक्त भएका हुन्।
आयोगको अध्यक्षमा रामप्रसाद उपाध्याय नियुक्त भएका छन्। पूर्व क्षेत्रीय शिक्षा निर्देशक उनी वीरेन्द्रनगर–१२ स्थानीय हुन्। मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको रोजाइमा उनी अध्यक्ष नियुक्त भएका हुन्।
त्यस्तै आयोगको सदस्यहरुमा बसन्तीकुमारी सिंह (शाही) र भक्तबहादुर खड्का नियुक्त भएका छन्। पूर्व शिक्षक शाही खार्पुनाथ–५ हुम्लाका स्थानीय हुन्।
उनी कर्णाली प्रदेशसभामा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीकी श्रीमतीसमेत हुन्। आयोगमा पदाधिकारी भागबन्डा गर्दा कांग्रेसको भागमा महिला कोटा परेको थियो। जसका कारण शाहीले श्रीमतीलाई आयोगको सदस्य बनाउने अवसर पाएका हुन्।
त्यस्तै अर्का सदस्य खड्का पूर्व शिक्षा सचिव हुन्। दैलेखबाट सुर्खेत झरेका उनी वीरेन्द्रनगर–४ का स्थानीय हुन्। कर्णाली प्रदेशसभामुख राजबहादुर शाहीको रोजाइमा खड्का सदस्यमा नियुक्त भएका हुन्। सभामुख शाही प्रधानमन्त्री केपी शर्मा ओली निकट हुन्।
यसैबीच नवनियुक्त पदाधिकारीहरुले आजै पद तथा गोपनियताको सपथ लिएका छन्। प्रदेश सरकारको सिफारिसमा कर्णाली प्रदेश प्रमुख गोविन्द कलौनीले सपथ खुवाएका हुन्। सपथ ग्रहण कार्यक्रममा मुख्यमन्त्री शाही, सभामुख शाहीलगायत सहभागी थिए।