काठमाडौं– वरिष्ठ अधिवक्ता पूर्णमान शाक्यले पार्टीभित्रको विवादले संसद् भंग गर्न नपाइने जिकिर गरेका छन्। एमिकस क्युरीका तर्फबाट राय दिँदै उनले सर्वोच्च अदालतको संवैधानिक इजलासमा यस्तो बताएका हुन्।
‘‘पार्टी विवादको समाधान पार्टी र संसदीय दलको विधानभित्रबाट गर्नुपर्छ। पार्टीभित्रको विवादलाई ल्याएर संसद् भंग गर्न पाइँदैन,’ उनले भने।
प्रधानमन्त्रीले पेश गरेको लिखित जवाफमा पार्टीभित्रैबाट काम गर्न अवरोध भएकाले विघटन गर्नुपरेको चर्चा गर्दै उनले यस्तो गर्न नमिल्ने बताएका हुन्।
संविधानमा प्रष्ट व्यवस्था भएको अवस्थामा अन्तर्राष्ट्रिय मूल्यमान्यता वा व्यवस्था हेर्न आवश्यक नरहेको उनले बताए। ‘भएको जतिमात्रै हो अधिकार प्रयोग गर्ने। लिखित संविधान भएको देशमा लेखिएकै कुरा मान्य हुन्छ। जे लेखिएको छ, त्यही हो मान्य हुने,’ शाक्यले भने।