काठमाडौं– सरकारले कोरोनाविरुद्धको खोप कोभिशिल्ड आयात गर्न सिरम इन्स्टिच्युट अफ इन्डियालाई अग्रिम भुक्तानी दिएको छ।
उत्पादक कम्पनीले अग्रिम रकम मागेपछि पठाइएको सरकारले गठन गरेको खोप सचिवालय समितिका सदस्य डा. भिमसिंह तिंकरीले बताए। उनका अनुसार सरकारको निर्णयअनुसार अग्रिम भुक्तानी दिएसँगै अब खोप खरिदका लागि बाटो खुलेको छ। मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले २० लाख डोज खोप ४ डलरका दरले खरिद गर्ने निर्णय गरेको थियो।
‘खरिद ऐन र नियमावलीअनुसार खरिद गर्न लागेको सामानको ८० प्रतिशतमात्रै अग्रिम भुक्तानी दिन सक्ने कानुनी प्रावधान छ। हामीले पहिलो चरणमा प्रतिडोज ४ अमेरिकी डलरका दरले २० लाख डोज खरिदको लागि ८० प्रतिशत भुक्तानी पठाएका छौं,’ तिंकरीले भने।
डा. तिंकरीका अनुसार सिरमले खोप दुई हप्ताभित्र पठाउने बताएको छ। तर, सरकारले भने एकै पटकमा २० लाख डोज नल्याउने भएको छ।
तिंकरीले भने, ‘हामीले भ्याक्सिन आउनेबित्तिकै एकैपटकमा लगाउन सक्दैनौं। लगाउने अवधि ८ हप्ताको फरकमा हुने भएकाले पनि एकैपटकमा ल्याउँदैनौं। खोप खेर जान नदिनको लागि एकैपटकमा २० लाख डोज नल्याउने कुरा भएको छ।’ खोप अभियानमा ग्याप हुन नदिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
यसअघि भारत सरकारले ८ माघमा १० लाख डोज अनुदानस्वरूप दिएको थियो । अहिले त्यही खोप लगाउने काम भइरहेको छ। कोभ्याक्स सुविधाअन्तर्गतको २२ लाख डोज खोप पनि केही दिनभित्रै नेपाल आउने मन्त्रालयले जनाएको छ।