धनगढी- नरभक्षी बाघ बसेको स्थान पत्ता लगाउन कैलालीको बसन्ता करिडोरसहितका क्षेत्रमा १७ वटा क्यामेरा जडान गरिएको छ।
बर्दिया राष्ट्रिय निकुञ्जबाट कैलाली आएको प्राविधिक टोलीले बाघ प्रभावित क्षेत्रका १७ स्थानमा क्यामेरा जडान गरेको हो। डिभिजन वन कार्यालय धनगढीका प्रमुख रामचन्द्र कँडेलका अनुसार बसन्ता करिडोर, गौरीगंगा नगरपालिकाको पुष्पाञ्जली सामुदायिक वन, शिवशंकर सामुदायिक वनलगायतका वन क्षेत्रमा क्यामेरा जडान गरिएको छ।
नरभक्षी पाटे बाघलाई नियन्त्रणमा लिन मंगलबार मात्र बर्दिया राष्ट्रिय निकुञ्जबाट चार जनाको प्राविधिक टोली कैलाली पुगेको थियो।
स्थानीयकाअनुसार मंगलबार बाघ गौरीगंगा नगरपालिकास्थित शिवशंकर सामुदायिक वन क्षेत्रमा देखा परेको थियो। नरभक्षी वयस्क पाटेबाघ गौरीगंगा नगरपालिका र कैलारी गाउँपालिकाका सामुदायिक वनमा घुमफिर गरिरहेको बताइएको छ।
बाघले आइतबार अपरान्ह गौरीगंगा नगरपालिका ५, अण्डैयाकी २५ वर्षीया कला धामीको ज्यान लिइसकेको छ। पुष्पाञ्जली सामुदायिक वनमा स्याउला लिन गएकी धामीमाथि बाघले आक्रमण गरेको थियो। आक्रमण गरेको केही पर धामीको शव फेला परेको थियो।
यसअघि शुक्रबार कैलारी गाउँपालिका ८ स्थित सीताकुँवा सामुदायिक वनमा दुधियाका २८ वर्षीय दुर्गाप्रसाद चौधरीमाथि पनि बाघले आक्रमण गरेको थियो। विवाहका लागि सालको पात टिप्न गएका चौधरी बाघसँगको जम्काभेटमा घाइते भएका थिए।
उनको पिठ्युँ र टाउकोमा बाघले घाउ बनाएको छ। चौधरीको नेपालगञ्जमा उपचार भइरहेको छ।