काठमाडौं- नेकपा दाहाल–नेपाल समूह बागमती प्रदेश संसदीय दलकी नेता अष्टलक्ष्मी शाक्यले प्रदेशसभाका सभामुख मुख्यमन्त्री डोरमणी पौडेलको रबर स्ट्याम्प बनेको आरोप लगाएकी छन्।
मुख्ममन्त्री पौडेलविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमाथि प्रदेशसभा बैठकमा छलफल गरेर छिटो टुंगो लगाउनु पर्नेमा सभामुख सानुकुमार श्रेष्ठ मुख्यमन्त्री पौडेलको रबर स्ट्याम्पको रुपमा देखिएको शाक्यको आरोप छ।
उनले गत पुस १० गते आफ्नो नेतृत्वमा मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेको र जसमा ४५ जनाको हस्ताक्षर रहेको बताउँदै यस प्रस्तावमा छलफल गर्न पटकपटक बोलाइएका बैठक स्थगित गरेको आरोप लगाइन्।
उनले आफूहरुको आग्रहमा सभामुखले बैठकको मिति तय गरे पनि मुख्यमन्त्री पौडेलको प्रभावमा पुनः स्थगित गर्ने गरेको भन्दै विज्ञप्तिमार्फत् आक्रोश व्यक्त गरेकी छन्।
शाक्यले पौडेलविरुद्धको अविश्वासको प्रस्ताव तुहाउन यसरी बैठक स्थगित गर्ने शिलशिला जारी रहेको बताएकी छन्।
उनले विज्ञप्तिमा भनेकी छन्, ‘सभामुखको यो कदमले प्रदेशसभाको उपादयता समाप्त पार्ने षड्यन्त्र भएको एवम् संघीयतालाई नै समाप्त पार्ने संघीयता विरोधीहरुको योजनालाई सफल पार्ने कार्य भइरहेको त छैन भन्ने गम्भीर प्रश्न उठेको छ।’
पछिल्लो पटक फागनु ५ गते (बुधबार) का लागि तोकिएको प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित गरिएपछि शाक्यले विज्ञप्तिमार्फत् यस्तो आक्रोश पोखेकी हुन्।