शुक्रबार, भदौ १९, २०८३

जेठमै महाधिवेशन गराउन देउवालाई पौडेल पक्षको दबाब

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको समूहले सभापति शेरबहादुर देउवालाई आगामी जेठमै महाधिवेशन गराउन दबाब दिने भएको छ। 
 |  बुधबार, फागुन ५, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, फागुन ५, २०७७

काठमाडौं– नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको समूहले सभापति शेरबहादुर देउवालाई आगामी जेठमै महाधिवेशन गराउन दबाब दिने भएको छ। 

आज बुधबार केन्द्रीय समितिको बैठक सुरु हुनुअघि पार्टी केन्द्रीय कार्यालय सानेपामा भएको पौडेल पक्षीय नेताहरुको भेलाले जेठमा महाधिवेशन गराउन सभापतिलाई दबाब दिने निष्कर्ष निकालेको हो।

‘यसअघिको कार्यतालिकाअनुसार पर्सि (शुक्रबार) महाधिवेशन उद्घाटन हुनुपर्ने हो। अहिलेसम्म हामी बोलेका थिएनौं। अब त नयाँ कार्यतालिका चाहियो नि,’ भेलामा सहभागी केन्द्रीय सदस्य गुरुराज घिमिरेले भने, ‘आउने जेठमै महाधिवेशन गर्नुपर्छ भन्ने हाम्रो अडान छ। त्यहीअनुसार कार्यतालिका ल्याउन दबाब दिन्छौं।’ 

कांग्रेसले यही फागुन ७ गतेदेखि पार्टीको महाधिवेशन गर्ने कार्यतालिका तय गरेको थियो। तर, आज ५ गतेसम्म पनि औपचारिक रुपमा महाधिवेशन स्थगित भएको छैन।

अहिलेसम्म सबै जिल्लाबाट क्रियाशील सदस्यताको विवरण केन्द्रीय कार्यालयमा प्राप्त भएको छैन। कोरोना महामारीलाई कारण देखाउँदै मंसिर मसान्तसम्म क्रियाशीलको विवरण बुझाउनुपर्ने म्याद माघ मसान्तसम्मलाई सारिएको थियो।  

यसअघि जारी गरिएको कार्यतालिकाअनुसार महाधिवेशन हुन नसकेपछि पौडेल पक्षले नयाँ कार्यतालिका मागिरहेको छ। ०७२ फागुन २६ गते सकिएको १३ औं महाधिवेशनबाट निर्वाचित पार्टीका सबै समितिको कार्यकाल एक वर्षअघि नै सकिएको छ। विधानअनुसार थपिएको एक वर्षको म्याद समेत २६ फागुनमा सकिँदैछ। अब महाधिवेशन गर्न संविधानले दिएको ६ महिनाको सुविधामात्रै बाँकी छ।

संविधानको धारा २६९ (४) (ख) मा ‘राजनीतिक दलको विधानमा कम्तीमा पाँच वर्षमा एकपटक सो दलको संघीय र प्रदेश तहका प्रत्येक पदाधिकारीको निर्वाचन हुने व्यवस्था हुनुपर्छ । तर, विशेष परिस्थिति उत्पन्न भई पाँच वर्षभित्रमा पदाधिकारीको निर्वाचन सम्पन्न हुन नसकेमा ६ महिनाभित्र त्यस्तो निर्वाचन गर्न सकिने गरी राजनीतिक दलको विधानमा व्यवस्था गर्न बाधा पर्नेछैन’ भन्ने उल्लेख छ ।

कांग्रेसले यही संवैधानिक सुविधाको उपयोग गर्दै बढीमा ६ महिना अर्थात् आगामी २६ भदौसम्म महाधिवेशन गर्ने गरी कार्यकाल लम्ब्याउन सक्छ।

आज बस्ने केन्द्रीय समितिको बैठकमा महाधिवेशनको नयाँ कार्यतालिका, प्रतिनिधिसभा विघटनविरुद्ध भइरहेको विरोध प्रदर्शनको नयाँ कार्यक्रम लगायतका विषयमा छलफल हुने बताइएको छ। 

सभापति शेरबहादुर देउवा पक्ष १४ औं महाधिवेशन भदौमा गर्ने गरी तालिका ल्याउने तयारीमा छ। तर पौडेल पक्षले भने जेठभित्रै महाधिवेशन सम्पन्न गर्ने गरी कार्यतालिका ल्याउन दबाब दिने तयारी गरेको छ।  

यस्तै प्रतिनिधिसभा विघटनविरुद्ध निर्वाचन क्षेत्र, स्थानीय तह, वडा, जिल्लामा  विरोध प्रदर्शन गरिसकेकाले अब प्रदेश र केन्द्र स्तरमा विरोधका कार्यक्रम गर्न नेतृत्वलाई दबाब दिने तयारीसमेत पौडेल पक्षले गरेको छ। केन्द्रीय समिति बैठक दिँउसो २ बजे सुरु हुनेछ। 

प्रकाशित: Feb 17, 2021| 07:37 बुधबार, फागुन ५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।