विश्वभर वैज्ञानिक क्षेत्रमा पनि महिलामाथि लैंगिक आधारमा निकै भेदभाव हुने गरेको छ।
पश्चिमी मुलुकका सम्पन्न देश पनि विज्ञान प्रविधि क्षेत्रमा महिला समानताका मामिलामा विपन्न मुलुकभन्दा पछाडि छन्।
युनेस्कोको पछिल्लो अध्ययनले यस्तो देखाएको हो। प्रतिवेदनको सबै विवरण भने अप्रिलमा सार्वजनिक गरिने युनेस्कोले जनाएको छ।
प्रतिवेदनअनुसार संसारभर इन्जिनियरिङमा स्नातक गर्नेमध्ये महिलाको संख्या २८ प्रतिशत छ। यस्तै कम्युटर विज्ञानमा स्नातक गर्ने महिलाको संख्या ४० प्रतिशत छ।
इन्जिनियरिङमा स्नातक भएका महिलाको संख्या आर्थिक सहयोग र विकास संगठन (ओईसीडी) सदस्य मुलुकको अभिलेख औसत रूपमा निकै कम छ। संगठनमा अधिकांश विकसित मुलुक छन्।
इन्जिनियरिङ स्नातकको महिलाको संख्या फ्रान्समा २६.१ प्रतिशत, अस्ट्रेलियामा २३.२ प्रतिशत, बेलायतमा २०.४ प्रतिशत, दक्षिण कोरियामा २०.१ प्रतिशत, स्विटजरल्यान्डमा १६.१ प्रतिशत र जापानमा १४ प्रतिशत छ।
अरब मुलुकमध्ये इन्जिनियरिङमा स्नातक महिलाको संख्या अल्जेरियामा ४८.५ प्रतिशत, मोरक्कोमा ४२.२ प्रतिशत, ओमनमा ४३.२ प्रतिशत, सिरियामा ४३.९ प्रतिशत र ट्युनिसियामा ४४.२ प्रतिशत रहेको युनेस्कोको प्रतिवेदनमा उल्लेख छ।
यस्तै ल्याटिन अमेरिकी मुलुक क्युबामा ४१.७ प्रतिशत, पेरुमा ४७.५ प्रतिशत र उरुग्वेमा ४५.९ प्रतिशत महिला इन्जिनियरिङमा स्नातक छन्।
युनेस्कोका महानिर्देशक ओद्रे आजुले भनेका छन्, 'एक्काइसाैं शताब्दीमा पनि लिंगका आधारमा विज्ञानका क्षेत्रमा महिलालाई किनारामा राखिएको छ।'
उनले विज्ञान, इन्जिनियरिङ र गणितका क्षेत्रमा पनि महिलाको समान अधिकार रहेको बताए।
संयुक्त राष्ट्रसंघका महासचिव मन्टोनियो गुटेरेसले कोरोना महामारीका कारण वैज्ञानिक क्षेत्रमा काम गर्ने महिलाले निकै चुनौती व्यहोरिरहेको बताएका छन्।
उनले भनेका छन्, ‘भविष्य सुन्दर बनाउनका लागि विज्ञान र प्रविधि क्षेत्रमा लैंगिक समानतालाई प्रोत्साहन गर्न आवश्यक छ।’ एएफपी