काठमाडौं– कोरोना भाइरसविरुद्धको खोपको पहिलो प्राथमिकताको दोस्रो अभियानमा २ लाख ६२ हजार ८७६ जनालाई खोप लगाइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
आइतबारदेखि सञ्चालन भएको कोभिड खोपको पहिलो प्राथमिकताको दोस्रो अभियान देशभर सञ्चालन भइरहेको छ। पहिलो चरणमा ४ लाख ३० हजारलाई खोप लगाउने अभियान पूरा नभएपछि सरकारले दोस्रो प्राथमिकता निर्धारण गरी अहिले सरकारी कर्मचारी र जनप्रतिनिधिलाई खोप लगाउन थालेको हो। साथै पहिलो चरणमा छुटेका फ्रन्टलाइनरलाई पनि यस चरणमा खोप दिइनेछ। अहिले भारतले अनुदानमा दिएको १० लाख डोज खोप लगाउने क्रम चलिरहेको छ।
परिवार कल्याण महाशाखाअन्तर्गत बाल स्वास्थ्य तथा खोप सेवा शाखा प्रमुख डा. झलक शर्मा गौतमका अनुसार दोस्रो प्राथमिकतामा ७ दिनभित्र २ लाख ६२ हजार ८७६ जनाले खोप लगाउनेछन्।
पहिलो चरणको खोप अभियान माघ १४ बाट सुरु भएको थियो। ११ दिन चलेको खोप अभियानमा १ लाख ८४ हजार ३४५ जनाले खोप लगाएका थिए। त्यस्तै, पत्रकार र कूटनीतिक नियोगका अधिकारीहरुलाई २६ माघबाट ५ दिन खोप लगाइएको थियो।
त्यसबेला ३ हजार ४८० जनाले खोप लगाएका थिए। करिब ३ लाख खोप बाँकी रहेका कारण मन्त्रालयले एक हप्ता पुनः पहिलो चरणको खोप अभियान चलाउन लागेको हो।
फागुन ८ गतेसम्म चल्ने अभियानमा प्रदेश १ का ३९ हजार ४९६, प्रदेश २ का ३४ हजार ५७२, बागमती प्रदेशका ८१ हजार ३७०, गण्डकी प्रदेशका २५ हजार ८७२, लुम्बिनी प्रदेशका ४० हजार ५३८, कर्णाली प्रदेशका १९ हजार ६३९ र सुदूरपश्चिम प्रदेशका २१ हजार २९३ जना गरी २ लाख ६२ हजार ८७६ जना सहभागी हुने अनुमान छ।