काठमाडौं– नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफू निकट केन्द्रीय सदस्यहरुको बैठक डाकेका छन्।
भोलि बुधबार बस्ने केन्द्रीय समिति बैठकअघि पौडेलले केन्द्रीय सदस्यहरुलाई छलफलका लागि बोलाएका हुन्। केन्द्रीय समिति बैठक भोलि दिउँसो २ बजेका लागि बोलाइएको छ। त्यसअघि बिहान ११ बजे पौडेल समूहका केन्द्रीय सदस्यहरुको बैठक डाकिएको हो। दुवै बैठक केन्द्रीय कार्यालय सानेपामा नै बस्नेछ।
पार्टीको महाधिवेशन चाँडो गर्न र सशक्त आन्दोलनका लागि सभापति शेरबहादुरलाई दबाब दिनका लागि छलफल गर्न लागिएको पौडेल निकट एक केन्द्रीय सदस्यले जानकारी दिए। स्थानीय तहमा विरोधका कार्यक्रम सकिएकाले अब प्रदेश र केन्द्रीय स्तरमा आन्दोलन चर्काउनुपर्ने पक्षमा पौडेल समूह छ।
कांग्रेसका संस्थापन पक्ष प्रतिनिधिसभा विघटनबारे सर्वोच्च अदालतको फैसला पर्खिनुपर्ने पक्षमा छ भने पौडेल समूह आन्दोलन चर्काउने पक्षमा छ।
उता, यही फागुन १९ गतेदेखि कांग्रेसका सबै समितिको विधानअनुसार थप गरिएको म्याद सकिँदैछ। केन्द्रीय समति बैठकले कार्यसमितिको म्याद थप गर्नेबारेमा निर्णय लिने बताइएको छ।
यस्तै फागुन ७ देखि १० गतेका लागि तोकिएको महाधिवेशनको मितिसमेत सार्ने निर्णय बैठकले गर्नेछ। कांग्रेस महाधिवेशन विधानअनुसार एक वर्षअघि नै हुनुपर्ने हो। तर, विधानअनुसार एक वर्ष कार्यकाल थप गरिएको थियो।
यो समयावधिमा समेत महाधिवेशन हुन सकेन। अब संविधानअनुसार भदौसम्म महाधिवेशन गरिसक्नु पर्ने छ।