आइतबार, असोज १८, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • हबिबको सेयर किन्दै हिमालयन बैंकका संस्थापक, सञ्चय कोषको निर्णय आउन बाँकी

हबिबको सेयर किन्दै हिमालयन बैंकका संस्थापक, सञ्चय कोषको निर्णय आउन बाँकी

हबिबको स्वामित्वमा रहेको सेयर कसले किन्न भन्ने विषय टुंगो नलाग्दा हबिबले लगानी लैजान सकेको थिएन। नेपाल इन्भेस्टमेन्ट बैंकसँग मर्ज भएर एकीकृत कारोबार सुरु हुने सात दिन अगाडि नामसारी हुने गरी सेयर खरिद गर्ने हिमालयन बैंक र हबिब बैंक अफ पाकिस्तानबीच सहमति भएको छ।
 |  सोमबार, साउन १८, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, साउन १८, २०७८

काठमाडौं‐ हिमालयन बैंकमा रहेको  हबिब बैंक अफ पाकिस्तानको स्वामित्वमा रहेको सेयर संस्थापकहरूले नै किन्ने भएका छन्।हिमालयन बैंकमा रहेको हबिबको २० प्रतिशत (२ करोड १३ लाख ६८ हजार ८०२ कित्ता) सेयर नेपालका अन्य संस्थापकले नै किन्ने भएका हुन्। 

हबिबको स्वामित्वमा रहेको सेयर कसले किन्न भन्ने विषय टुंगो नलाग्दा हबिबले लगानी लैजान सकेको थिएन। नेपाल इन्भेस्टमेन्ट बैंकसँग मर्ज भएर एकीकृत कारोबार सुरु हुने सात दिन अगाडि नामसारी हुने गरी सेयर खरिद गर्ने हिमालयन बैंक र हबिब बैंक अफ पाकिस्तानबीच सहमति भएको छ। 

हिमालयन बैंकमा कर्मचारी सञ्चय कोषको पनि लगानी छ। संस्थापकहरू सबैले हबिबको सेयर खरिद गर्ने आशय देखाए पनि  कोषको लगानी समितिले निर्णय गर्न नसक्दा अहिलेसम्म सेयर खरिद गर्ने विषयमा निर्णय भने भइसकेको छैन। 

हिमालयन बैंक संस्थापक राणा समूहले पहिले नै सो सेयर खरिद गर्न खोजेको थियो। तर बैंकमै लगानी रहेको श्रेष्ठ समूह नमान्दा हबिबको सेयर खरिदमा लागि समस्या भएको छ। 

केही समयअघि बेलायतको कमनवेल्थ डेभलपमेन्ट कर्पोरेसन (सीडीसी)ले पनि हबिबको स्वामित्वमा रहेको सेयर खरिद गर्ने ईच्छा देखाएको थियो। सिडीसीसँग डिल गर्नका लागि भनेर नै अशोक राणालाई हिमालयन बैंकले पुनः प्रमुख कार्यकारी अधिकृतमा निरन्तरतासमेत दिएको थियो। 

तर संस्थापकहरुले सेयर दिने निर्णय गर्न ढिलाई गरेपछि सीडीसीले हात झिकेको थियो। हाल बैंकमा हबिब बाहेक चारवटा समूह राणा , श्रेष्ठ, खेतान र कर्मचारी सञ्चय कोष संस्थापक छन्। 

अहिले हिमालयन बैंकको चुक्ता पुँजी १० अर्ब ६८ करोड ४४ लाख रुपैयाँ छ। बैंकको डीडीए (सम्पत्ति मूल्यांकन)ले प्रतिकित्ता २८२ रुपैयाँ ५० पैसामा संस्थापक सेयर खरिद/बिक्री गर्नुपर्ने निस्किएको थियो। सोही मूल्यमा हबिबका नामको सेयर संस्थापकहरूले किन्ने सम्झौता भइसकेको छ। 

प्रकाशित: Aug 02, 2021| 22:07 सोमबार, साउन १८, २०७८
प्रतिक्रिया दिनुहोस्