सर्खेत– सुर्खेतका सौगात (नाम परिवर्तन) २०६१ सालमा सुर्खेतको रामघाटस्थित चौरमा भेटिए।
स्थानीय एक दम्पतीले घरमा लगे। लालनपालन गरे। उनी ठूलो हुँदै गए। तर ती दम्पतीले वास्तविकता बताउन चाहेनन्।
उनीहरूले सौगातलाई उत्तराधिकारी बनाइसकेका थिए। त्यसैले हामी वास्तविक आमाबुवा होइनौं भन्ने कुरा लुकाए। तर सौगातलाई आमाबुवाको अभाव हुन दिएका छैनन्।
त्यतिबेला राकममा माओवादी र सेनाबीच भिडन्त भएको थियो। कयौं व्यक्ति मारिएका थिए। कोही घाइते भएका थिए।
सकुशल रहेका व्यक्तिचाहिँ आआफ्नो तर्फका घाइतेको उद्धारमा लागे। तर झन्डै दुई वर्षका सौगात त्यहीं छोडिएका थिए।
सौगातका आमाबुवा लडाइँमा मरिए, घाइते भए वा त्यत्तिकै छाडेर हिँडे भन्ने बारे कसैलाई थाहा छैन।
तर माओवादीले नै सौगातलाई छोडेका हुन् भन्ने विषयमा दुईमत छैन। किनकि सरकारी सुरक्षाकर्मी आफ्ना बालबालिका लिएर युद्धमा जाँदैनथे।
माध्यमिक शिक्षा अध्ययन गरिरहेका सौगातले आफू सक्कली बुवाआमासँग बसेको होइन रहेछ भन्ने बिस्तारै थाहा पाए।
बाआमा नहुँदा सौगातलाई पर्ने मानसिक पीडा न कसैले बुझ्न सक्छ न त सम्बोधन गर्न सम्भव छ। उनी भन्छन्, ‘ मैले के गल्ती गरें?’
त्यसो त आफ्नो जन्मस्थान र आफन्त पनि पहिचान नभएको उनी बताउँछन्।
माओवादी विद्रोहका कारण सौगातजस्ता धेरैले बिचल्ली भोगेका छन्। यस्ता निर्दोष व्यक्ति राज्य र विद्रोहीको चेपुवामा परे।
संविधान, संघीयता, समावेशिता र नागरिकको अधिकारका लागि भन्दै १० वर्षसम्म चलेको विद्रोहले बनाएको घाउ निको हुन सकेको छैन।
मुलुकमा शान्ति स्थापना भएको १४ वर्ष बित्दा पनि द्वन्द्वपीडितको घ्याउमा महलमपट्टी लाग्न सकेको छैन। घाइतेहरू उपचार नपाएर छटपटाइरहेका छन्।
यही विवशतामा बाँचिरहेकाहरु सत्तामा पुग्नेकै लागि माओवादीले सशस्त्र विद्रोह गरेको आरोप लगाउँछन्।
‘माओवादीले जनताको अधिकारका लागि विद्रोह गरेको भए हामीले किन बिचल्ली भोग्नुपर्थ्याे?’ एकल महिला संघ सुर्खेतका अध्यक्ष शीतलसिंह राठोर भन्छिन्, ‘उसको भनाइ र गराइ हेर्दा त जनयुद्व सत्तामा पुग्नकै लागि मात्र गरिएको प्रमाणित हुन्छ।’
माओवादी संघीयता र अधिकारको सपना बाँडेर नागरिकको हत्या मात्रै गरेको उनको आरोप छ। उनी भन्छिन्, ‘माओवादी यत्रो वर्षसत्ताकै वरिपरि घुम्यो तर हामीले त के पायौं?’
पढ्नुस् :
हजारौं सपना तहसनहस पारेको त्यो ‘जनयुद्ध’
‘माओवादी युद्ध मजस्ता धेरै दिदीबहिनीकाे जीवन बर्बाद बनाउन गरिएको रहेछ’
माओवादीको तत्कालीन नेतृत्वसँग अब सत्ता, सुखभोग र आफन्तवादको तीव्र इच्छा मात्रै बाँकी छ
हिंसात्मक विद्रोहले पारेको बिचल्ली : १६ वर्षदेखि ह्विलचियरमा, न उपचार, न आर्थिक सहयोग