काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भैरहवामा पुगेर प्रधानमन्त्री केपी शर्मा ओली, निर्वाचन आयोग, अख्यितार दुरुपयोग अनुसन्धान आयोग र पार्टीभित्रकै विपक्षी खेमामाथि निशाना साँधेका छन्।
प्रतिनिधिसभा विघटनविरुद्ध भैरहवामा आयोजित विरोध सभालाई सम्बोधन गर्दै देउवाले आक्रामक भाषण गरे। सम्बोधनको सुरुवातमा उनी प्रधानमन्त्री ओली र नेकपाका अध्यक्ष पुष्पकमल दाहालविरुद्ध खनिए। उनले प्रचण्डलाई ओली र प्रचण्डको झगडाले कांग्रेसभित्रै लफडा भएको बताए।
हिजो प्रचण्डलाई तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले प्रजातन्त्र मान्ने सर्तमा शान्ति प्रक्रियामा ल्याएर राजा फालेको स्मरण गर्दै देउवाले अहिले ओली र प्रचण्ड नै राजा भन्दा ठूलो हुन खोजेको आरोप लगाए। ‘ओली र प्रचण्ड राजाभन्दा ठूलो हुन खोजे। कुर्सीका लागि मारामार भयो। हाम्रै पार्टीमा समस्या आइसकेको छ,’ उनले भने, ‘अदालतमा मुद्दा विचाराधीन छ। यस्तो बेलामा अदालतको निर्णय पर्खने कि के गर्ने भन्नेबारेमा दुई कुरा पार्टीभित्र आयो। तर निर्णय पर्खनुको विकल्प छैन।’
उनले अदालतमा राम्रो वकिल राखेर बहस गराउन छोडेर जुलस निकाल्ने प्रतिस्पर्धा गरेको भन्दै ओली–प्रचण्डको आलोचना गरे। ‘अदालतमा मुद्दा विचाराधीन छ। राम्रो वकिल राखेर बहस गराएको भए हुन्थ्यो। बेकारमा जुलस निकाल्ने प्रतिस्पर्धा चलेको छ,’ उनले भने, ‘अदालतले जुलुस हेरेर निर्णय गर्ने भए त किन चाहियो अदालत ?’ उनले प्रतिनिधिसभा पुनर्स्थापना भए पनि र निर्वाचन भए पनि कांग्रेसलाई मान्य हुने बताए।
‘पुनर्स्थापना भए पनि ठिक छ, चुनाव भए पनि ठिक छ। अदालतभन्दा ठूलो अदालत जनता हो। जनताभन्दा ठूलो अदालत अर्को छैन,’ उनले भने, ‘अदालतमा विचाराधीन मुद्दामा यस्तो गर, उस्तो गर भन्न मिल्दैन। विचाराधीन मुद्दा छ। अदालतको फैसला पर्खौं अनि निर्णय गरौं भनेको पार्टीकै एकथरी साथीहरु के भन्छन्, अर्कोथरी के भन्छन्।’
उनले कांग्रेस स्वतन्त्र न्यायपालिका मान्ने पार्टी भएको भन्दै अदालतले निष्पक्ष न्याय दिन्छ भन्ने विश्वास रहेको बताए।
ओली र प्रचण्डको चर्को आलोचना गरेका देउवाले आफ्नो दोस्रो निशाना निर्वाचन आयोगतर्फ सोझ्याए। उनले हालसम्म निर्वाचन आयोगले निर्वाचनको कार्यतालिका सार्वजनिक नगरेको भन्दै आलोचना गरे। ‘निर्वाचन आयोगले अहिलेसम्म निर्णय नदिने। चुनावको कार्यक्रम अहिलेसम्म ल्याएको छैन। चुनाव गराउने निर्वाचनको प्रक्रिया सुरु भएकै छैन,’ उनले भने, ‘संसद् विघटन भएको ६ महिनाभित्र चुनाव गरिसक्नुपर्छ। निर्वाचन आयोग संविधान भन्दा माथि जान सक्छ ? निर्वाचन आयोगलाई म यहिँबाट भन्न चाहन्छु ओलीले संसद् विघटन गरेको ६ महिनाभित्र चुनाव गराउनुपर्छ।’
उनले ओलीले वैशाखसम्म चुनाव गराउँछु भनेको तर आयोगले कार्यतालिका सार्वजनिक नगरेको भन्दै निर्वाचन आयोगमाथि नै शंका गर्नुपर्ने बेला भइसकेको बताए।
‘अहिले आयोगले निर्वाचनका कार्यक्रम अघि बढाउने हो। पछि अदालतले विघटन बदर गर्यो भने रोक लाए भइहाल्यो नि,’ उनले भने, ‘६ महिनाभित्र चुनाव गराउछु भन्नुपर्यो आयोगले। म तयार छु, गराउँछु भनेर बोलेकै छैन। आयोग किन बोल्दैन ? किन केही भन्दैन ? अहिलेसम्म एउटै निर्णय गर्न नसक्ने। सूर्य एउटै छ। कसलाई दिने हो निर्णय गरे भइगो नि।’
उनले आफूले निर्वाचनताका कम्युनिस्टले जिते बोल्न हाँस्न त के रुन पनि पाइँदैन भनेको स्मरण गर्दै अहिले त्यही भइरहेको बताए। ‘अहिले गाँउगाँउमा मैले भनेजस्तै भइरहेको छ। जनतालाई दुःख दिइएको छ, प्रहरी लगाइदेको छ,’ उनले भने, ‘बलात्कार बढेको छ। कसले बोल्ने ? रुन नपाइने अवस्था सिर्जना भएको छ।’
देउवाले सम्बोधनकै क्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पनि ध्यानाकर्षण गराए। उनले सरकारले विषयगत निर्णयलाई नीतिगत निर्णय भनेर मनलाग्दी गरेको भन्दै अख्तियारको ध्यानाकर्षण गराएका हुन्। ‘विषयगत निर्णयलाई नीतिगत निर्णय भनेर मनलाग्दी गरेको छ। हामी छोड्नेवाला छैनौं। विषयगत निर्णय र नीतिगत निर्णय भनेको अलग अलग कुरा हो,’ उनले भने, ‘विषयगत निर्णय क्याविनेटले गर्नै पाउँदैन। अख्तियारको ध्यान जाओस् यसमा।’