काठमाडौं- नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो तानशाही शासन तन्काउन निर्वाचनको घोषणा गरेको बताएका छन्।
कांग्रेसले प्रतिनिधिसभा विघटनविरुद्ध गरेको देशव्यापी प्रर्दशनको क्रममा कास्कीमा आयोजित विरोध सभामा बोल्दै नेता सिंहले ओलीले नहुने निर्वाचनको मिति घोषणा गरेको बताए।
‘उनले तानशाही शासन तन्काउन हुनै नसक्ने चुनाव घोषणा गरे। शासन लम्बाउन कसैलाई प्रलोभनमा फसाउन सकिन्छ कि भनेर उनले चुनावको चाल चलेका हुन्,’ सिंहले भने।
उनले अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गर्ने विश्वास व्यक्त गरे। ‘प्रतिनिधिसभा विघटनको मुद्दा अहिले सर्वोच्च अदालतमा छ।
अब न्यायमूर्तिहरुले न्याय दिँदा संविधानको व्यवस्था र भावनालाई हेरेर दिनुहुन्छ भन्ने विश्वास छ,’ उनले थपे, ‘हिजो राजा ज्ञानेन्द्रले शाही आयोग गठन गरे। त्यो बेला अदालतले त्यसलाई असंवैधानिक ठहर गर्यो। अहिले पनि असंवैधानिक ठहर गर्ने विश्वास छ। हिजो पनि सेटिङको कुरा थियो, आज पनि छ। तर सर्वोच्चले आफ्नो गरिमा कायम गर्नेगरी निर्णय गर्नेछ।’
पुनर्वहाली भयो भने नेपालको राजनीति नेपालकै हातमा रहने तर विघटन सदर भयो भने मुलुकमा शक्तिकेन्द्रहरुको चलखेल बढ्ने उनको भनाइ छ।
सिंहले संसदीय व्यवस्थाको सुन्दर पक्ष चेक एन्ड व्यालेन्स भएको भन्दै कार्यपालिकाले व्यवस्थापिकामाथि प्रहार गर्दा न्यायपालिकाले सच्चाउनुपर्ने धारणा राखे। उनले संविधान मिचेका ओलीले चुनाव गराउँछन् भनेर पत्याउनलेलाई रामराम मात्र भन्न सकिने बताए।
‘संविधान मिच्ने ओलीले निर्वाचन गराउछन् भनेर पत्याउनेलाई रामराम मात्र भन्न सकिन्छ। नेकपाले जनताको मतको अवमूल्यन गरेको छ,’ उनले भने, ‘मै कानून हुँ, मै संविधान हुँ भन्ने ओलीको एक दिन राजा ज्ञानेन्द्रको झै हालत हुनेछ।’