हेटौंडा– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले चुनावको तयारीमा लाग्न नेता, कार्यकर्तालाई निर्देशन दिएका छन्।
सोमबार मकवानपुरको हेटौंडामा आयोजित कार्यक्रममा बोल्दै थापाले सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनको निर्णय सदर गरे तत्काल चुनावमा जानसक्ने गरी तयारी थाल्न आग्रह गरेका हुन्।
अध्यक्ष थापाले संगठन सुदृढीकरण, जनसंघर्ष र महाधिवेशनको तयारीलाई सशक्त ढंगबाट सञ्चालन गर्नुपर्नेमा जोड दिए।
नेपाली समाज सनातन मूल्यमान्यता, धर्म र संस्कृतिको जगमा खडा भएको भन्दै थापाले मुलुकको स्वाधिनता जोगाउन राजासहितको प्रजातन्त्र आवश्यक रहेको बताए।
उनले अभिभावक नभएपछि मुलुकमा भ्रष्टाचार र मनपरितन्त्र बढेको उल्लेख गरे।
थापाले भ्रष्टाचारका साथै बेरोजगारी, धर्मपरिवर्तन र सर्वसत्तावाद अहिलेको प्रमुख समस्या भएको बताएका छन्।
कार्यक्रममा राप्रपा नेता राजाराम बर्तौला, रामहरि न्यौपाने, गुरुप्रसाद सापकोटा, इन्दिरा न्यौपाने, मीठेबहादुर कार्की लगायतले बोलेका थिए।