काठमाडौं – वैशाख १७ र २७ गतेका लागि तोकिएको निर्वाचनको तयारी र आचारसंहिताका बारेमा निर्वाचन आयोगले दलहरूसँग छलफल गरिरहेको छ।
छलफलमा स्थानीय तह, प्रदेश र प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने १४ वटा दलका प्रतिनिधिहरू सहभागी छन्। यस्तै निर्वाचन आयोगका तर्फबाट आयुक्तहरू र सचिवहरू तथा कानुनविद्हरू पनि सहभागी छन्।
अहिले छलफल निर्वाचन आचारसंहितामा केन्द्रित छ। तर, नेकपा आन्दोलनरत समूह (दाहाल–नेपाल)ले भने सुरुआतमै पार्टीको विवाद निरुपण किन भएन भनेर प्रश्न गरेका छन्।
यो समूहको तर्फबाट लीलामणि पोखरेललगायत सामेल छन्।
ओली समूहका तर्फबाट कानुनविद् बाबुराम दाहाललगायत सहभागी छन्।
निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार निर्वाचन आचारसंहिताको मस्यौदा तयार पारिसकेको र सो मस्यौदाबारे राजनीतिक दलहरूसँग छलफल भइरहेको हो।
राजनीतिक दलहरूसँगको छलफलपछि आयोगले आचारसंहिता सार्वजनिक गर्ने तयारी गरेको छ।