काठमाडौं– नेपाली कांग्रेसले रसुवाको केरुङ नाकामा आयात—निर्यात सहज बनाउन सरकारसँग माग गरेको छ।
प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ति जारी गर्दै तत्काल केरुङ नाक खुलाउन सरकारसँग माग गरेका हुन्।
चीनको वुहानबाट कोरोना भाइरसको संक्रमण फैलिएलगत्तै अन्तर्राष्ट्रिय सीमा नाका प्रवेशमा कडाइ र आवागमन बन्द समेत गरिनु तत्कालको परिस्थितिको बाध्यता र आवश्यक कदम भएको तर तुलनात्मक रुपले स्थिति सहज बनेको अवस्थामा पनि उत्तरी सीमाको प्रमुख व्यापारिक नाका केरुङ बन्द रहेको भन्दै खुलाउनुपर्ने कांग्रेसको माग छ। नाका बन्द हुँदा नागरिक र व्यवसायीहरुले दुःख पाइरहेको विवरण निरन्तर प्राप्त भइरहेकोे भन्दै कांग्रेसले सरकारको ध्यानाकर्षण गराएको छ।
‘०७६ माघ १५ देखि असार २७ सम्म पूर्ण रुपले बन्द भएको सामान ढुवानी त्यसपछि आंशिक खुला गरिएको तर दैनिक ५ कन्टेनरले मात्र प्रवेश पाउँदा १५ सय बढी कन्टेनर सीमामा अलपत्र स्थितिमा पर्नु दुःखद् छ,’ विज्ञप्तिमा भनिएको छ, ‘यसबाट एकातर्फ नेपाली व्यवसायीहरु मर्कामा परेका छन् भने अर्कातर्फ राज्यकै राजस्व संकलनमा पनि असर पुगेको छ। अतः चिनियाँ पक्षसँग यथाशीघ्र संवाद गरेर समस्याको समाधान खोज्न नेपाली कांग्रेस नेपाल सरकारसमक्ष माग गर्दछ।