कविराम खड्का विद्रोही थिएनन्, न सरकारी सेना। खाऊँ खाऊँ लाऊँ लाऊँ भन्ने उमेरमा माओवादीकाे निशानामा परेका उनी भन्छन्, ‘हिंसाले मेरो भाग्य खोस्यो।’
सुर्खेत– गाउँ युद्धको चपेटमा थियो। धेरै युवा विदेश गइसकेका थिए। सुर्खेतको भेरीगंगा–६ मैनतडाका कविराम खड्का स्वदेशमै केही गर्न चाहन्थे। व्यापार गर्न पर्याप्त पैसो थिएन।
जोखिम मोलेर व्यवसाय गरौं भने द्वन्द्वले के परिणाम निम्त्याउने हो केही टुंगो थिएन। उनी अन्योलमा थिए। त्यही बेला नेपाली सेनामा भर्ती खुल्यो।
सेनामा भर्ती हुन जाँदा व्रिदोही माओवादी निशानामा पर्ने ठूलो भय छँदै थियो। गाउँका दौंतरीसँग सल्लाह गरेपछि सेनामा भर्ती हुने निर्णय भयो।
२०६१ साल कात्तिक २५ गते कविरामसँग केही युवक गाउँबाट वीरेन्द्रनगरतर्फ लागे। सेनामा भर्ती हुने उद्देश्यले वीरेन्द्रनगर आएका उनलाई वीरेन्द्रनगर–७ कट्कुवा नजिकै माओवादीले आक्रमण गर्यो।
आक्रमणमा कविरामसँग भर्ती हुन आएका अन्य तीन जनाको घटनास्थलमै ज्यान गयो। खुट्टा र ढाडमा तीनवटा ओली लागे पनि कविरामको सास रोकिएन।
परिणामस्वरूप कविराम विगत १६ वर्षदेखि ह्विलचियरमा छन्। छातीमुनिको सबै भाग चल्दैन। दिसापिसाब शरीरमै पर्छ।
उनी भन्छन्, ‘म न माओवादीमा थिएँ न त सुरक्षाकर्मी। माओवादीको सशस्त्र हिंसाका कारण यस्तो अवस्थामा पुगें। ‘बाँचेर पनि मरेतुल्य छु।’
घाइते भएका उनलाई तत्काल सेनाले उद्धार गरेर उपचारका लागि महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा लगेको थियो। ५९ दिनसम्म पनि चिकित्कसले उनको शरीरको गोली भिक्न मानेन्।
‘डाक्टरले मरिहाल्छ भनेर गोली नै झिकेनन्’, कविराम त्यो त्रासपूर्ण दिन सम्झँदै भन्छन्, ‘गोली नझिकेपछि दुईचार वर्ष बाँच्न सकिन्छ भने, त्यसै फर्किएँ।’
अस्पतालबाट डिस्चार्ज भए पनि उनी गाउँ फर्केनन्। गाउँ आए माओवादीले मारिहाल्छन् भन्ने डर थियो।
दुई सातासम्म नेपालगन्जमा बिताए। घाउ झन् बल्झियो। नेपालगन्जका चिकित्सकको सल्लाहमा लखनउ पुगे। साढे चार लाख रुपैयाँ खर्चेर शरीरको गोली झिके। तर थप उपचार गर्ने पैसा नभएपछि आधा उपचार नगरीकनै उनी घर फर्किए। भन्छन्, ‘उपचार पूरा नभएकै कारण पूर्ण रूपमा अपांग हुनुपर्यो।’
गाउँ फर्किएपछि तत्कालीन मैनतडा गाविसले उपलब्ध गराएको ‘जो जससँग सम्बन्धित छ’ व्यहोराको पत्र बोकेर चन्दा संकलन गरे।
त्यही रकमले सानो व्यापार गरेर जीवन निर्वाह गरे। जेनतेन बन्धकी राखेको घरखेत फिर्ता ल्याउन सके पनि उनको शरीर चल्न सकेन।
समयक्रमसँगै मुलुक शान्ति प्रक्रियामा प्रवेश गर्यो। २०६४ को निर्वाचनपछि माओवादीकै नेतृत्वमा सरकार बन्यो।
द्वन्द्वबाट तहसनहस भएको उनको पीडा कसैले बुझेन। ‘शान्ति प्रक्रियापछि द्वन्द्वपीडित, घाइते र अपांगले रकम पाए तर मैले उपचार खर्चसमेत पाउन सकिनँ’, उनी गुनासो पोख्छन्, ‘म न सरकारको मान्छे थिएँ, न माओवादी, यही कारण शान्ति प्रक्रियापछि पनि कसैले हेरेन।’
विगतमा जनतालाई माओवादीले बाँडेका सपना र अहिलेको व्यवहार तुलना गर्दा माओवादी केवल सत्तामा पुग्न गरिएको खेलमात्रै भएको उनको बुझाइ छ।
‘माओवादीले जनताकै लागि युद्व गरेको भए म जस्ताले उपचार नपाएर मर्नुपथ्यो र?’ उनी प्रश्न गर्छन्, द्वन्द्व सकिएको लामो समयसम्म पनि किन नागरिकको दैनिकी बदलिएन?’
अहिले कविरामकाे उपचारबापत मासिक ६ हजार रुपैयाँ खर्च हुन्छ।