काठमाडौं- सरकारको प्रतिगामी कदम तथा महिलामाथि हुने बलात्कार र हत्याका घटनाविरुद्ध माइतीघर मण्डलमा विरोध प्रदर्शन गरिएको छ।
शनिबार विभिन्न संघ संस्थाहरुले आआफ्नै शैलीमा विरोध प्रदर्शन गरेका हुन्।
सरकारको प्रतिगनमकारी कदमविरुद्ध नागरिक समाजका प्रतिनिधिले अहिंसात्मक नागरिक प्रर्दशनको नाममा प्रदर्शन गरेका थिए।
‘प्रतिनिधिसभा मास्न पाईदैन, निरंकुश सरकार चाहिँदैन भन्दै’ नागरिक समाजका प्रतिनिधिले माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन्।
प्रदर्शनमा केदारनरसिंह केसी, डाक्टर गोविन्द केसी, नारायण वाग्लेलगायतको उपस्थिति थियो। उनीहरुले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्रीको कदमको विरोध गरेका थिए।
त्यस्तै पद्मकन्या क्याम्पसका छात्राहरूले मुखमा कालो पट्टी बाँधेर विरोध प्रदर्शन गरेका छन्। उनीहरूले बलात्कारपछि हत्या गरिएकी बैतडीकी भागरथी भट्ट, निर्मला पन्तलगायतको घटनामा संलग्नलाई कारबाही गर्न माग गरेका थिए।
मधुवन साहित्यिक प्रतिष्ठानले पनि बलात्कारको विरुद्धमा रचना वाचन गरी विरोध प्रदर्शन गरेको थियो। साहित्यकारहरुले रचनामार्फत महिलामाथि हुने हिंसाविरुद्धमा सिर्जनामार्फत् विरोध प्रदर्शन गरेका थिए।