बुटवल - ऊर्जामन्त्री तथा नेकपा ओली समूहका नेता टोपबहादुर रायमाझीले पूर्वजनमुक्ति सेनाहरूको रक्षाको नेतृत्व प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने बताएका छन्।
आज बुटवलमा भएको आमसभामा उनले ओलीको नेतृत्वमा जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलनमा घाइते हुनेहरूको निःशुल्क उपचार गर्ने निर्णय भएको बताएका हुन्।
‘जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलनलगायतका लोकतान्त्रिक आन्दोलनको उपलब्धिको रक्षा तथा विकास र समृद्धिको नेतृत्व केपी शर्मा ओलीबाट मात्रै हुन्छ,’ उनले भने। दाहाल–नेपाल समूहसँग सरकार ढाल्ने र पार्टी फुटाउनेबाहेकको रेकर्ड नभएको उनको भनाइ छ।
यस्तै उनले दाहाल–नेपाल समूहसँग विचार र कार्यदिशा नै नरहेको टिप्पणी गरेका छन्।
उनले भने, ‘विचार पनि छैन, कार्यदिशा पनि छैन पद प्रतिष्ठासँग सम्बन्धित मात्रै छ, पद मात्रै खोजिरहनुभएको छ।’
पार्टीलाई विभाजन तिर लगेर उनीहरू हिँडेको भन्दै अहिले सडकमा भौँतारिरहेको बताए।
उनले संसद् पुनस्र्थापना नहुने दाबी गरेका छन्।
‘सहमतिलाई तोड्दै पूर्व माओवादी र पूर्व एमालेको टीमले सहकार्य बनाएर ओलीलाई सरकार र पार्टीबाट हटाएर सडकमा पुर्याउने प्रयास गरे,’उनले भने,‘चोरबाटोबाट प्रतिपक्षीको काँधमा चढेर ओलीलाई प्रहार गर्ने प्रयास भयो, अहिले आफैं सडकमा पछारिनुभयो।’
केपी शर्मा ओली एक नम्बर अध्यक्षको हस्ताक्षर मात्रै निर्वाचन आयोगले बुझेको भन्दै उनले अब देश चुनावमा गइसकेको बताए।