जनकपुरधाम - प्रदेश २ को भौतिक पूर्वाधार विकास मन्त्रालयले वार्षिक प्रगति विवरण सार्वजनिक गरेको छ।
भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनलले पत्रकार सम्मेलन गर्दै आर्थिक वर्ष २०७६/०७७ को वार्षिक प्रगति विवरण सार्वजनिक गरेका हुन्।
मन्त्री सोनलले कोरोना महामारीका कारण आशा गरेअनुरुप कार्य गर्न नसके पनि उपलब्ध स्रोतसाधनलाई समुचित प्रयोग गरिएको बताए।
मन्त्रालयको वार्षिक प्रतिवेदन अनुसार प्रदेशभित्र सडक निर्माण, सिँचाइ, खानेपानी, भौतिक संरचना निर्माणलगायतको क्षेत्रमा काम गरिएको छ।
कोरोना महामारी प्रकोपका बाबजुद प्रदेशमा आर्थिक वर्ष २०७६/०७७मा कुल ३५६ किलोमिटर सडक निर्माण गरिएको मन्त्री सोनलको भनाइ छ।
जसमध्ये ५१ किलोमिटर कालोपत्रे सडक, ७५ किलोमिटर ढलान, १७० किलोमिटर ग्राभेल तथा ६० किलोमिटर नयाँ बाटो खोल्ने गरी निर्माण गरिएको उनले बताए।
त्यस्तै सिँचाइतर्फ पाँच हजार ४३० हेक्टर जग्गा सिञ्चित गरिएको वार्षिक प्रगति विवरणमा उल्लेख छ।
मन्त्री सोनलले आठवटै जिल्लामा मझौला सिँचाइ योजना कार्यान्वयनमा ल्याइने बताए।
प्रत्येक जिल्लामा ४०० हेक्टर जग्गा लाभान्वित हुने गरी ३-४ वटा मझौला सिँचाइ योजना सञ्चालनमा ल्याइने मन्त्री सोनलको भनाइ छ।
मन्त्रालयको प्रगति विवरणका अनुसार गत आर्थिक वर्षमा प्रदेशभित्र २६ वटा धर्मशाला, आठवटै जिल्लामा गरी ९ वटा दलित छात्रावास, आठवटा ज्येष्ठ नागरिक आवास निर्माण कार्य सम्पन्न भएको छ।
संघ सरकारको सहयोगमा प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्रालयले सञ्चालन गर्दै आएको जनता आवास कार्यक्रमअन्तर्गत गत दुई आर्थिक वर्षमा दुई हजार २०१ घर निर्माण कार्य सम्पन्न गरी हस्तान्तरण गरिएको मन्त्री सोनलले जानकारी दिए ।
उनका अनुसार चालु आर्थिक वर्षमा जनता आवास कार्यक्रमअन्तर्गत चार हजार ६५९ घर निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य छ।