बुटवल – प्रधानमन्त्री केपी शर्मा ओलीले रूपन्देही र पाल्पाको चुरे क्षेत्रमा सञ्चालन हुन लागेको लुम्बिनी केबलकारको शिलान्यास गरेका छन्।
बुटवलबाट पाल्पाको वसन्तपुरसम्म जोड्ने केबलकारको शिलान्यास गरिएको हो।
प्रधानमन्त्री ओलीले अर्को एक वर्षभित्र वसन्तपरको डाँडामा पुग्ने गरी काम गर्न आग्रह गरे।
‘कोभिडले सबभन्दा बढी धक्का पर्यटनमा परेको छ, त्यसको असर कम गर्न लुम्बिनी केबलकारले सहयोग गर्नेछ,’ उनले भने, ‘लुम्बिनी रामाविथेकस, कपिलमुनि र बुद्धको थलो हो।’
अर्थमन्त्री विष्णु पौडेलले केबलकारलाई पर्यटनसँग जोड्दै अघि बढ्न सुझाव दिए। उनले केबलकार सञ्चालनका क्रममा स्थानीयवासीसँग सहकार्य गर्दै अघि बढ्न सुझाव दिए।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले वसन्तपुर डाँडा ऐतिहासिक थलो पनि भएकाले अर्थतन्त्रमा ठूलो टेवा पुग्ने बताए।
उनले बुटवल क्षेत्र आर्थिक हिसाबले चलायमान क्षेत्र भएकाले ढुक्कसँग लगानी गर्न आग्रह गरे।
शिलान्यास समारोहमा लुम्बिनी केबलकार प्रालिका अध्यक्ष चन्द्र ढकालले केबलकारले पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने विश्वास व्यक्त गरे।
उनले पर्यावरणलाई ख्याल गर्दै स्थानीयसँग साझेदारी गरेर योजना अघि बढाइएको बताए।
गत सोमबार संघीय सरकारको मन्त्रिपरिषद् बैठकले केबलकार निर्माण गर्न आयोजना क्षेत्रमा पर्ने रुख कटानका लागि अनुमति दिएको थियो।
बुटवलको उत्तरी चुरे क्षेत्र रूपन्देही र पाल्पा जिल्लामा पर्ने क्षेत्रमा यो आयोजना सुरु गरिएको हो।
रुपन्देही र पाल्पा ६.७ हेक्टर वन क्षेत्र प्रयोगको स्वीकृति दिएको हो।
केबलकार प्रालिले २५ वर्षको लागि सो वन क्षेत्र उपयोग गर्न पाउने छ।
सरकारले वन क्षेत्रमा रहेका एक हजार ३३८ वटा एवं रुख काट्न स्वीकृति दिएको हो।
२०६२ सालदेखि लाइसेन्स लिएर पनि काम अगाडि बढ्न सकेको थिएन।
बुटवल–३, बम्घास्थित केबलकारको बटम स्टेशन बनाइएको छ।
केबलकार २.८ किलोमिटर लामो हुनेछ। केबलकारको अन्तिम स्टेशन रहेको पाल्पाको वसन्तपुर डाँडामा केबलकार प्रालिले ११० रोपनी जग्गामा फाइभ स्टार होटल विभिन्न सेमिनार हलदेखि १५० वटा रूम रहने आयोजकले जनाएका छन्।
यसका लागि कुल लागत तीन अर्ब पाँच करोड रूपैयाँ लाग्ने प्रालिको भनाइ छ।