धादिङ - धादिङको बेनीघाट रोराङ गाउँपालिका-७, चरौँदीमा माइक्रोबस ट्रकसँग ठोक्किँदा दुईजनाको मृत्यु भएको छ।
आज बिहान नवलपरासीबाट काठमाडौंतर्फ जाँदै गरेको बा३ख ८४ नम्बरको माइक्रोबस सडकमा रोकिराखेको ना६ख ४६० नम्बरको मालवाहक ट्रकसँग ठोक्किँदा दुर्घटना भएकाे इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी नायव उपरीक्षक युवराज खड्काले जानकारी दिए।
मृत्यु हुनेमा नवलपरासी देउचुली–१६ की ५० वर्षीया हीरामाया गुरुङ र सोही ठाउँकी ६५ वर्षीया कृष्णकुमारी केसी रहेको प्रहरीको भनाइ छ।
दुर्घटनामा ६ घाइते भएका छन्।
घाइतेमध्ये तीनजनालाई थप उपचारका लागि चितवन पठाइएको छ।
दुईजनाको राजमार्ग सामुदायिक अस्पतालमा उपचार भइरहेको छ भने र एक घाइतेलाई सामान्य उपचारपछि घर पठाइएको प्रहरी नायव उपरीक्षक खड्काले जानकारी दिए। रासस