काठमाडौं– प्रतिनिधिसभा पुनर्स्थापना नभए र संवैधानिक निकायमा भएका असंवैधानिक नियुक्ति नसच्याइए फागुन १२ गतेदेखि सत्याग्रह गर्ने चेतावनी डा. गोविन्द केसीले दिएका छन्।
उनले आज बिहीबार पत्रकार सम्मेलन गर्दै माग पूरा नागरिक प्रतिरोधको सर्वोच्च अस्त्र सत्याग्रह सुरु बताएका हुन्।
उनले सरकारसँग तीन बुँदे माग अघि सारेका छन्। उनले अवैधानिक रुपमा गरिएको प्रतिनिधिसभा विघटनको प्रयासबाट संविधानको रक्षा गर्न माग गरेका छन्। यस्तै अवैध रुपमा संवैधानिक निकायहरुमा गरिएका नियुक्ति रद्द गरिनुपर्ने उनको माग छ।
चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्र सुधारका लागि भएका सम्झौता कार्यान्वयन गर्नुपर्ने र चिकित्सा शिक्षालाई गैरनाफामूलक बनाउने, सबै सार्वजनिक शिक्षण संस्थामा ७५ प्रतिशत छात्रवृत्ति कार्यान्वयन गराउने लगायत राष्ट्रिय चिकित्सा शिक्षा ऐनका प्रावधानहरूको कार्यान्वयन गरिनुपर्ने माग केसीको छ।
डा. केसीले झण्डै ८ दशकसम्म नागरिकहरुले रगत–पसिना बगाएर ल्याएको लोकतान्त्रिक व्यवस्था जोखिममा रहेको भन्दै संविधानको मर्म मारेर एक व्यक्ति सर्वेसर्वा हुने र राज्यका सबै संस्थाले उसको स्वार्थअनुसार काम गर्ने अधिनायकवादी व्यवस्था संस्थागत गर्ने प्रयास अहिले भइरहेको बताएका छन्।
उनले नागरिक सार्वभौम रहेकाले बोल्न, लेख्न पाउने र सम्मानजनक जीविका आर्जन गर्ने अधिकार मात्रै हैन, लोकतान्त्रिक अधिकार र स्वतन्त्रताहरुको रक्षा गर्ने जिम्मेवारी समेत भएको बताएका छन्।
उनले एक दशकदेखि देशको स्वास्थ्य र मेडिकल शिक्षामा सुधार तथा सुशासनका पक्षमा निरन्तर संघर्षरत रहेको स्मरण गर्दै कतिपय मागहरु अहिलेसम्म पूरा नभएको र धेरै सम्झौता कार्यान्वयन भएका बताएका छन्।