महोत्तरी- महोत्तरीमा डाँका अभियोगमा चार युवक पक्राउ परेका छन्।
पक्राउ पर्नेमा बलवा नगरपालिका–७ बस्ने ३८ वर्षीय बिक्रु महतो कोइरी, २५ वर्षीय निरेखन मण्डल, जलेश्वर नगरपालिका–६ बस्ने २० वर्षीय जीतेन्द्र ठाकुर र महोत्तरी गाउँपालिका–३ बस्ने २० वर्षीय दिलीप मण्डल रहेको प्रहरीचौकी सीतापुर भङ्गहाले जनाएको छ।
चारै युवकले गएराति भङ्गहा नगरपालिकाको सिंग्याही बजारमा अवस्थित शिव ज्वेलर्समा डाँका हालेर भागेकोमा स्थानीयले एक जनालाई गएराति नै पक्राउ गरेका थिए। डाँकापश्चात् भागिरहेका तीन जनालाई आज जिल्लाकै बनौटा गाउँबाट पक्राउ गरिएको हो।
पक्राउ परेका चारमाथि शिव ज्वेलर्सबाट रु. दुई लाख बराबरको सुनचाँदीका गहना लुटेर भागेको आरोप लागेको छ।
उनीहरुबाट अहिलेसम्म कुनै वस्तु बरामद नभएको प्रहरी नायब उपरीक्षक विष्टले बताए। पक्राउ गरिएका चारै जनामाथि आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ। रासस